रूपन्देही— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरूद्धको मुद्दाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा बुझाएको छ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटी रकम बुझाएर रिहा भए। इलाका प्रहरी कार्यालय बुटवलले बिहीबार सुप्रिम सहकारीको रकम अपचलन मुद्दाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो।
लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार छुटेका थिए। उनीमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी रन्जित सिंह राठौरले प्रहरीले बिहीबार नै मुद्दाको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिए।
‘प्रहरीले बिहीबार नै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ, सरकारी वकिलको कार्यालयले अध्ययन गरेर अदालतमा मुद्दा लैजान्छ,’ राठौरले भने।
प्रहरीले लामिछानेलाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको स्रोतले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने कार्तिक २७ गते भैरहवास्थित सरकारी वकिलको कार्यालयमा पुगेर बयान दिएका थिए।
सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख बढी बचत रकम हिनामिना गरेको दाबी गर्दै गत वैशाख ३ गते लामिछाने सहित २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो।
सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको पहिलो चरणको अनुसन्धानबाटै खुलेको थियो। जसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको उल्लेख थियो।