काठमाडौं— मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१०, बसर्पाकस्थित एक होटलको कोठाको विगत ९ दिनदेखि बस्दै आएका २८ वर्षीय युवक मृत भेटिएका छन् ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–४ घर भएका सरोज शाह बिहीबार बिहान साढे १२ बजे चण्डिका होटलको २०१ नम्बर कोठामा मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालयका अनुसार मृतक शाहको शव खाटमा पलेँटी कसेर बसेको अवस्थामै मुन्टो घोप्टो परेको स्थितिमा भेटिएको थियो ।
प्रहरीले शाह बस्ने कोठामा सानो प्लेटमा सिक्का पैसा, ड्रग्स जस्तो देखिने सेतो पदार्थ र ब्लेड फेला पारेको जनाएको छ । ‘मादक पदार्थ सेवन गरेको र कोठामा लागूपदार्थ जस्तो सेतो वस्तु भेटिएकोले ओभर डोजको अनुमान छ । तर जाँच नभइसकेकाले यही नै कारण हो भन्न सकिँदैन,’ डीएसपी अर्यालले भने ।
नाकबाट रगत बगेको अवस्थामा भेटिएका शाह बुधबार साँझ हेटौँडा–४ कमलडाँडामा मादक पदार्थ सेवन गरेर साँझ साढे ६ बजे होटलमा आइपुगेको अर्यालले जानकारी दिए । मृतक शाहलाई नेपाल प्रहरीका एक जना कर्मचारीले नै होटलमा पुर्याउन आएका थिए । प्रहरीले उनलाई सोधपुछ गरेको छ ।
‘मृतक आफ्नो आफन्तसँग बसेर मादक पदार्थ सेवन गरिरहेको अवस्थामा हाम्रो कर्मचारीलाई होटलमा पुर्याउन लगाइएको रहेछ । उनीहरू मिल्ने साथी रहेछन् । सोधपुछको क्रममा साथी भएकाले होटलसम्म पुर्याएर फर्किएको बताएका छन्,’ उनले भने ।
शाह पुस १५ देखि होटलमा निरन्तर बस्दै आएका थिए । दिउँसो काम गर्न जान्छु भनेर निस्किने र साँझ होटलमा आएर बस्ने गरेको डीएसपी अर्यालले बताए । आज बिहान ढोका नखुलेको र मृतक शाह होटल बाहिर पनि निस्किएपछि होटल सञ्चालकले झ्यालबाट हेर्दा शङ्कास्पद लागेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव पोस्टमार्टमको लागि हेटौँडा अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।