काठमाडौं— रास्वपा सभापति रवि लामिछानेलाई फेरि पक्राउ गरेर काठमाडौं पठाउने कि आफैं काठमाडौं जिल्ला अदालतमा हाजिर हुन दिने भन्ने परामर्शमा कास्की प्रहरी जुटेको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा छोड्ने आदेश दिएसँगै अब के हुने भन्ने प्रश्न उठेको हो ।
लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि सहकारी ठगीमा मुद्दा दर्ता भएको छ । कास्की प्रहरीको उच्च स्रोतका अनुसार कानुन व्यवसायीसँग परामर्श सुरु भएको छ ।
'यहाँको जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश गरिसकेको छ । काठमाडौंमा पनि अभियोगपत्र दर्ता भएको छ । अब यहाँबाट पक्राउ गरेर काठमाडौंलाई बुझाउने कि पक्राउ नगरी आफैं अदालतमा उपस्थित हुन दिने भन्नेबारे कानुन व्यवसायीहरूसँग छलफल गरिरहेका छौं,' कास्की प्रहरीका उच्च अधिकारीले भने ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।
लामिछानेले कास्की जिल्ला अदालतमा धरौटी बुझाउने प्रक्रिया भने सुरु गरिसकेका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेसँग जिल्ला अदालत कास्कीले धरौटी मागेको थियो ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेसँग कास्की जिल्ला अदालतले धरौटी मागेको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएका हो ।