News Griha :: न्यूजगृह
सबैको ध्यान कास्की अदालतमा : सहकारी ठगी मुद्दाको थुनछेक आदेश लेखन जारी

काठमाडौं— सूर्यदर्शन सहकारी ठगी प्रकरणको थुनछेक बहसका सबै प्रक्रिया सकिएपछि अहिले कास्की जिल्ला अदालतमा आदेश लेखन कार्य जारी छ।

सूर्यदर्शन सहकारी ठगीमा मुछिएका प्रतिवादीहरूमाथि लगाइएको सरकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा अहिले आदेश लेखनको काम चलिरहेको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। उनले आदेश आजै आउने सम्भावना रहेको पनि बताए।

उक्त मुद्दामा रास्वपाका सभापति पूर्वगृहमन्त्री रवि लामिछानेसमेत प्रतिवादी भएकाले पनि आदेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ। अहिले सबैको ध्यान कास्की अदालतमै छ।  यसअघि आज कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले बहस सकिएपछि प्रतिवादीलाई बोल्न समय दिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले थुना बाहिर बसेर मुद्दा लड्न पाउँ भन्दै अनुरोध गरेका थिए। त्यसक्रममा उनले सहकारीपीडितलाई न्याय दिलाउन आफूले पहल गर्ने पनि बताएका थिए। 

कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा आजै थुनछेक आदेश दिनसक्ने भएकाले सम्भावित सुरक्षा खतरालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।

अदालतबाट आदेशको तयारी भएपछि अदालतको निषेधित क्षेत्र आसपास सुरक्षा कडा पारिएको र अन्य बाह्य क्षेत्रमा पनि आदेशपछि हुनसक्ने सुरक्षा थ्रेटलाई मध्यनजर गरी  निगरानी बढाइएको छ। त्यहाँ रविका समर्थक, रास्वपाका नेता कार्यकर्ता, सहकारी पीडितहरूको समेत उपस्थिति रहेको बताइएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १७:०६
समसामयिक
Weather Update