News Griha :: न्यूजगृह
मुग्लिन–मलेखु सडक विस्तार : अब सवारिसाधन नरोकिने

चितवन— मुग्लिन–मलेखु सडक स्तरोन्नतिका क्रममा यातायात अवरुद्ध नहुने भएको छ। गतहप्ता दिउँसो सवारिसाधन रोकेर स्तरोन्नतिका कामहरू गरिएको थियो। 

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का इन्जिनियर विजय दराईका अनुसार यही पुस ७ गतेदेखि १३ गतेसम्म सवारी रोकेर काम गरिए पनि अहिले सवारी सञ्चालन गरेरै धमाधम काम गरिएको हो। 

सो समयमा दिउँसो ११ बजेदेखि २ बजेसम्म सवारी रोकेर सडकको विशालटार, खटौटीलगायत क्षेत्रमा भित्तो काट्ने काम गरिएको थियो। उनले भने‚ 'अहिले सवारी नरोकेरै हामीले काम गरिरहेका छौँ।'

निर्माण कम्पनीले सन् २०२२ डिसेम्बरमा काम सुरु गरेको हो। ३ वर्षभित्र काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो। अहिलेसम्म २० प्रतिशतमात्र काम भएको छ। 

भित्तो काट्ने र नदीतर्फ पर्खाल लगाउने काम भइरहेको छ। कुरिनटार क्षेत्रमा कालोपत्रेका लागि बेस र सबबेसको काम भइरहेको छ।मुग्लिनबाट मलेखुसम्म ३९ किलोमिटर सडक यस खण्डमा विस्तार भइरहेको हो। निकै साँघुरा र भित्तो काट्न एवं पर्खाल उठाउन कठिन ठाउँमा दुई लेन अर्थात ९ मिटर फराकिलो सडक बनाइँदै छ। 

उकालो ठाउँहरूमा ३ लेन अर्थात १२ मिटरको हुनेछ। झण्डै १ दशमलव ५ किलोमिटर सडक यस्तो ठाउँमा पर्छ। बजार क्षेत्र कुरिनटार, चरौँदी, विशालटार, चुम्लिङ्टार, मझिमटारलगायत करिब ६ किलोमिटर क्षेत्रमा ४ लेन अर्थात १८ मिटर फराकिलो सडक बनाइँदै छ। 
मुग्लिन, बेनिघाट र मलेखु बजारमा ६ लेन अर्थात २६ मिटर फराकिलो सडक बनाइँदै छ। एक किलोमिटरभन्दा बढी क्षेत्रमा फराकिलो सडक बनाउन लागिएको हो। 

पृथ्वी राजमार्गमा पर्ने नागढुङ्गा–मुग्लिन सडकखण्डलाई दुई भागमा विभाजन गरेर स्तरोन्नति भइरहेको हो। विश्व बैंकको सहयोगमा सडक निर्माण थालिएको हो। निर्माण कम्पनीले ४ अर्ब ८० करोड रुपैयाँमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ। 

संघीय राजधानीबाट बाहिरिने र प्रवेश गर्ने प्रमुख सडक भएकाले यो सडकखण्डमा उच्च सवारी चाप रहेको छ। समयमा काम नहुँदा सो सडक हुँदै यात्रा गर्ने यात्रुले औधी सास्ती भोग्नु परेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १५:५४
समसामयिक
Weather Update