पर्सा— वाइफाइको विषयलाई लिएर आफन्तबीच भएको झैझगडामा ८० वर्षीय वृद्धको मृत्यु भएको घटना सार्वजनिक भएको छ । घटना पर्साको पोखरिया नगरपालिकाको हो ।
घटनामा पोखरिया नपा–८ जगातपुर निवासी ८० वर्षीय वृद्ध रमजान देवानको मृत्यु भएको हो । हजुरबुवालाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा २० वर्षीय नाति काबुल भन्ने आजाद देवान र १८ वर्षीया नातिनी खुश्बु खातुन पक्राउ परेका छन् ।
हाल आरोपित दाजुबहिनी इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा छन् । प्रहरीले ज्यानसम्बन्धी कसुर अपराधमा जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ । रमजानको शव नारायणी अस्पताल वीरगञ्जमा परीक्षण गरिएको छ । शव परीक्षणको नतिजा आउन बाँकी छ ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक स्वरूप शर्माका अनुसार सोमबार साँझ करिब ४ बजेको यो घटना भएको हो । झगडा पछि रमजान गम्भीर भएका थिए । उनलाई उपचारार्थ नारायणी अस्पताल वीरगञ्जमा भर्ना गरिएको र त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो ।
प्रहरी निरीक्षक शर्माका अनुसार वाइफाइको विषयमा परिवारका सदस्यबीच झगडा हुँदा घटना घटेको हो।