काठमाडौं— पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बाघ र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ब्वाँसोको संज्ञा दिएका छन्।
दुवै पार्टीको सम्पन्न केन्द्रीय कमिटी बैठकलाई तुलना गर्दै भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली अलि बढी खुला र प्रष्ट भएको विश्लेषण गरेका छन्। उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सदा झैँ कुटिल र छद्म रहेको टिप्पणी गरेका छन्।
उनले नेपालको जटिल भूराजनीतिक सन्दर्भ केलाउँदै नेपाल र रूसको नियति फरक होला? भन्दै प्रश्न समेत गरेका छन्।
‘ओली र प्रचण्डका कम्युनिष्ट पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रूसी पार्टीको झल्को आयो– बाहिरी रूप समाजवादी भित्री सार नोकरशाही पुँजीवादी।’ नेसपाका अध्यक्षसमेत रहेका भट्टराईले भनेका छन्, ‘बरु ओली अलि बढी खुला र प्रष्ट। प्रचण्ड सदा झैँ कुटिल र छद्म। खासगरी नेपालको जटिल भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा र क्रान्तिकारी लफ्फाजीको प्रयोगमा। बाघ भर्सेज ब्वाँसो? नेपाल र रूसको नियति फरक होला?’
एमाले र माओवादी बैठक केन्द्रीय कमिटी बैठक आइतबार सुरु भएर मङ्गलबार सकिएको थियो। एमालेले आइतबार नै राजनीतिक र साङ्गठनिक प्रतिवेदन सार्वजनिक गरेको थियो भने माओवादी केन्द्रले भने अध्यक्ष प्रचण्डले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन पारित भए पनि अहिलेसम्म सार्वजनिक भएको छैन।