काठमाडौं— नेकपा माओवादी केन्द्रले एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने भएको छ। मंगलबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले एक वर्षभित्र पार्टीको नवौं महधिवेशन गर्ने अध्ययक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव सर्वसम्मतले पारित गरेको हो।
महाधिवेशनमा जानुअघि आउँदो फागुन १ गतेदेखि विशेष अभियान चलाउने र असारमा बस्ने केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोक्ने अध्यक्ष प्रचण्डले बताए।
‘हामी महाधिवेशनमा जाने नै हो,’ बैठकमा केन्द्रीय सदस्यहरूले राखेको धारणाको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले भने, ‘जनताले माओवादीमाथि भरोसा गरेकै छ। अभियान पनि महाधिवेशनकै तयारी कै रूपमा हुनेछ। पहिलो ६ महिना जनजागरण अभियानमा जान्छौं, अर्को ६ महिनामा महाधिवेशनतिर जाने हो।’
गत २१ गतेदेखि सुरू भएको बैठकमा राजनीतिक तथा सांगठनिक प्रस्ताव राख्दै अध्यक्ष प्रचण्डले नवौं महाधिवेशन छिट्टै गर्ने बताएका थिए। तर बैठकमा प्रतिवेदनमाथि विचार राख्ने क्रममा उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा लगायतले विशेष महाधिवेशन गर्नुपर्ने बताएका थिए।
तर अध्यक्ष प्रचण्डले अहिले माओवादीमाथि जनताको भरोसा बढेको भन्दै पहिले जनतासँग माओवादी अभियान चलाउने र त्यसपछि महाधिवेशनको मिति तोक्ने बताएका हुन्। उनले उक्त महाधिवेशन एकताको महाधिवेशन हुने बताएका छन्। अध्यक्ष प्रचण्डले ६ महिनाभित्र सबै विचार मिल्ने र माओवादीको लिगेसी बोकेका दलहरूसँग एकता गरिसक्ने बताए।
त्यसका लागि उच्चस्तरीय वार्ता कमिटी छिट्टै घोषणा हुने अध्यक्ष प्रचण्डले बैठकलाई जानकारी दिए।