News Griha :: न्यूजगृह
भूकम्प : काठमाडौंमा एक व्यक्ति घरको छतबाट हामफाले, बारामा विद्यार्थी बेहोस्

काठमाडौं— काठमाडौंमा भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले घरको छतबाट हाम फालेका छन् ।

नेपाल प्रहरीका अनुसार स्युचाटार निवासी ती व्यक्ति घाइते छन् । उनको अस्पतालमा उपचार जारी छ । प्रहरीले उनको परिचय भने सार्वजनिक गरेको छैन ।

मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर शक्तिशाली भूकम्प गएको हो ।

सो भूकम्पको धक्का नेपालका कोशी, मधेस र बागमती प्रदेशका जिल्लाहरुमा महसुस भएको थियो । काठमाडौंबासी आत्तिएर घरबाहिर निस्किएका थिए ।

प्रहरीका अनुसार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएका  छन् । उपचारपछि उनीहरुको स्वास्थ्य अवस्था सामान्य भई डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भूकम्पबाट सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन र रामेछापमा एउटा गोठमा क्षति पुगेको छ ।

ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा पनि क्षति पुगेको प्रहरीको भनाइ छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ११:४०
Weather Update