News Griha :: न्यूजगृह
तिब्बतको भूकम्पले काठमाडौंलाई हल्लाएको थियो २५ सेकेन्ड

काठमाडौं— तिब्बतको डिङ्गयी केन्द्रबिन्दु बनाएर आज बिहान ६:५० बजे गएको भूकम्पको धक्का काठमाडौंलागत धेरै जिल्लामा महसुस भएको छ । 

भूकम्पले लामो समय हल्लाएको छ । 'काठमाडौंमा २० देखि २५ सेकेन्डसम्म हल्लाएको छ,' भूकम्पविद् लोकविजय अधिकारीले भने, 'ठाउँमा अनुसार लामो र छोटो समय हल्लाउने हुन्छ ।' 

बलियो भूगोल भएको ठाउँमा छोटो समय र कमजोर धरातल भएको ठाउँमा लामो समय हल्लाउने उनको भनाइ छ । जति धेरै समय हल्लायो त्यति नै क्षतिको सम्भावना उच्च हुने उनी बताउँछन् । 

मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।

भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु(गहिराइ) १० किलोमिटर रहेको छ । सीसीटीभीका अनुसार भूकम्पको केन्द्रबिन्दुको ५ किलोमिटर आसपासमा ७ वटा गाउँ रहेका छन् । त्यस्तै केन्द्रबिन्दुको २० किलोमिटर आसपासमा भने २ वटा सहर रहेका छन् । भूकम्पका कारण भवनहरू भत्किएको भिडियो र तस्बिरहरूसमेत सार्वजनिक भएका छन् । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धार टोली खटिइसकेका छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १०:४६
Weather Update