काठमाडौं—कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पनि जोडिएका छन् । राप्रपा केन्द्रीय सदस्य पुष्पराज पौडेल (पुरुष) स्वर्णलक्ष्मी सहकारी ठगीमा मुछिएका हुन् ।
उनीसहित ३९ व्यक्तिलाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको छ । यो सहकारीले बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ ठगी गरेको भन्दै सोही अनुसारको बिगो मागदाबी गरिएको छ ।
यता प्रहरीले फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ घर भएका ४२ वर्षीय पुष्पराज भने सार्वजनिक रूपमा मिडियामा अन्तर्वार्ता दिँदै हिडेका छन् । उनी यसअघि पनि ठगीको आरोपमा पक्राउ परेका थिए ।
यसअघि एमाले नेता सूर्य थापा नेतृत्वको सहकारी छानबिन समितले समेत उनीसँग बयान लिएको थियो । उनी तत्कालीन हर्बो इन्टरनेसनलका प्रबन्ध निर्देशक एवं हाम्रो ग्रुप अफ कम्पनीका संस्थापक अध्यक्ष हुन् । उनीमाथि नेटवर्किङ शैलैमा ठगी गरेको आरोप छ ।
नक्कली लालपुर्जा बनाएर ठगी गरको आरोपमा समेत उनी २०७५ सालमा पक्राउ परेका थिए । अर्काको नाममा भएको जग्गालाई नक्कली लालपुर्जा देखाएर कीर्ते कागजात खडा गरी उनीहरूले ८ करोड ३७ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
कुनै समय उनी नेटवर्किङ व्यवसायका नाममा ठगी गरेर उधुम मच्चाएको गोल्ड क्वेस्ट इन्टरनेसनलबाट पीडित बनेर कारबाहीको माग गर्दै गठन भएको संघर्ष समितिका संयोजक थिए ।
त्यस दौरान उनले न त आफ्नो गुमेको पैसा फिर्ता पाए, न त ठगीमा संलग्नमाथि कारबाही नै भयो । बरु उलटै पौडेल पनि अर्को नेटवर्किङ व्यवसायतिरै अकषिर्त भए । र, हर्बो इन्टरनेसनल नामक नेटवर्किङ व्यवसायको हर्ताकर्ता बनेका थिए ।
तर, उनको यो धन्दा लामो समय टिकेन । हर्बोको धन्दा सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको थियो । नेटवर्किङमा असफल भएपछि पौडेलले बत्तीसपुतलीमा केही समय जयसंगत नामको आश्रम खोलेका थिए । सोही क्रममा उनले श्रीमान नामको चलचित्र बनाएर त्यसमा श्रीमानको भूमिका समेत खेलेका थिए ।
सबै कर्मबाट असफल भनेपछि सन्यासी बनेर हिँड्न थालेका पौडेल पछिल्लो समय ललितपुरको महालक्ष्मी नगरपालिका, लामाटारस्थित जयसंगत आश्रममा बस्दै आएका थिए । अहिले भने उनी सहकारी ठगीमा मुछिएका छन् ।