News Griha :: न्यूजगृह
म्याग्दीको तोरीबारी, जहाँ लाग्छ टिकटिक बनाउनेको भीड

म्याग्दी— केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ ।कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ ।

कात्तिक–मङ्सिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खानका लागि यहाँ पर्यटकको भीड लाग्ने गर्छ ।

सदरमुकाम बेनी र बागलुङको बीचमा रहेको भाइरल गाउँ रत्नेचौरको तोरी बारीमा रमाउँदै टिकटक र भिडियो बनाउन यतिबेला यहाँ थोगी नसक्नुको भीड छ । पुस लागेयता यहाँ रमाउन र वनभोज खान १२ हजारभन्दा बढी पर्यटक आएका स्थानीय भरत केसीले जानकारी दिए ।

उत्तरतिर हेर्दा चाँदीझैँ टल्किने सेता हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पुस लागेयता दैनिक सयौँ पर्यटक आउने गरेका केसीले बताए । अहिले पहेँलपुर तोरीबारीले रत्नेचौर झकिझकाउ बनेको छ । उत्तरतर्फ मनोरम धौलागिरि हिमशृङ्खलाको दृश्य, हरियाली फाँट र तोरी फुलेर पहेँलपुर वातावरणले यस क्षेत्रको प्राकृतिक सुन्दरतालाई थप निखार दिएको पर्वत कुश्माका हरिश गौतमले बताए ।

रत्नेचौरबाट संसारको सातौँ अग्लो धवलागिरि हिमाल (८,१६७ मिटर) स्पष्ट देखिन्छ । यस्तै, समथर भूभागमा फुलेका तोरीबारीसँगै बेनी–बागलुङ सडकखण्डको कालोपत्र गरिएको चिल्लो सडकले थप आकर्षण प्रदान गरेको छ । तोरीबारीमा मौरी र भमरा रस चुस्दै गरेका रमाइला दृश्यले गाउँलाई जीवन्त बनाएको छ । बारीको छेउकुना तथा सडकको दायाँबायाँ मानिस तोरीबारी र हिमाल हेर्दै रमाइरहेका देखिन्छन् । 

पहेलैँ फुलेको तारीको बीचबीचमा हुर्कँदै गरेको गहुँको हरियालीले यहाँ आउने सबैको ध्यान खिचेको छ । रत्नेचौर फाँटमा गहुँ र तोरी झुलिरहेको छ । झुलिरहेको गहुँ र तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारण टिकटक बनाउन, नाच्दै रमाउन व्यस्त छन् ।
रत्नेचौर–अर्जम–ज्यामरुककोट सडकखण्डको कालोपत्र सडकको दायाँ र बायाँतर्फ खेतको फाँटमा फुलेको तोरी, खुलेको हिमाल र चिल्लो सडकलाई पृष्ठभूमिमा पारेर फोटो खिचाउन र टिकटक बनाउन यहाँ दैनिक सयौँ पर्यटक आउने गरेको स्थानीयवासी नेत्रबहादुर महतले बताए । 

केही वर्ष अगाडिसम्म सुनसान रत्नेचौरको सडक कालोपत्र भएपछि तोरीबारीमा बसेर फोटो, भिडियो खिच्न विभिन्न स्थानबाट सवारीसाधनको प्रयोग गरी आउने गरेका छन् । शुक्रबार, शनिबार र सार्वजनिक बिदामा अन्य दिनमा भन्दा बढी भीड लाग्ने गरेको छ । म्याग्दी, बागलुङ र पर्वतका विभिन्न क्षेत्रबाट एकैपटक घुम्न आउनेहरूको भीड व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको स्थानीय सन्तोष महतले बताए ।

रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने तीन  सय ८८ मिटर लामो झोलुङ्गे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षण बनेको छ । वरिपरिको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धवलागिरि हिमालको दृश्यका साथै समथर फाँटको पहेँलपुर तोरीले पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीयको व्यापारमा पनि सघाएको निवर्तमान वडाध्यक्ष टेकबहादुर थापाले बताए ।

तोरी उत्पादन क्षेत्र बनाएर राष्ट्रियस्तरमै पर्यटकीय हिसाबले पनि अहिलेको मौसमका बेलामा प्रवर्द्धन गर्न सकिने हुँदा लोकल तोरीको पनि प्रवर्द्धन हुने र व्यापक रूपमा पर्यटक भित्र्याउन सकिने थापाको भनाइ छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ०७:३५
Weather Update