News Griha :: न्यूजगृह
ज्वरो आएको छ ? इन्फ्लुएन्जा हुनसक्छ, यी हुन् लक्षण

काठमाडौं— जाडो महिनामा मानिसमा इन्फ्लुएन्जाको सम्भावना बढी हुन्छ । इन्फ्लुएन्जालाई बोलीचालीको भाषामा ‘फ्लु’ भनिन्छ । इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने संक्रामक रोग हो । सबै उमेरका मानिसलाई फ्लु लाग्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

फ्लु भएका मानिसले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ । ‘ती छिटा सासबाट फोक्सोमा पनि जान सक्छन् । भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि फ्लु लाग्न सक्छ,’ केन्द्रले भनेको छ ।

केन्द्रका अनुसार, ज्वरो आउनु, टाउको दुख्नु, जिउ र मांसपेशी दुख्नु, खोकी लाग्नु, घाँटी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, थकान महसुस हुनु फ्लुका लक्षण हुन् । फ्लु भएका सबैलाई ज्वरो नआउन पनि सक्ने केन्द्रले स्पष्ट पारेको छ ।

यसको रोकथामका निम्ति बिरामी भएका व्यक्तिसँग भौतिक दूरी राख्न, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्न केन्द्रले सचेत गराएको छ । खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्न, बेलाबेलामा साबुनपानीले हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न, शारीरिक रूपमा सक्रिय हुन र प्रशस्त तरल पदार्थ तथा पौष्टिक खाना खान र आफ्नो आँखा, नाक वा मुख नछुन पनि केन्द्रले सचेत गराएको छ ।

‘फ्लु भएका अधिकांश व्यक्तिहरूलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधिहरू आवश्यक पर्दैन । दीर्घरोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लुले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिले स्वास्थ्यकर्मीको निगरानी वा सम्पर्कमा रहनुहोला,’ केन्द्रको सूचनामा उल्लेख छ ।

ज्वरो आएको छ ? इन्फ्लुएन्जा हुनसक्छ, यी हुन् लक्षण

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ०५:५७
Weather Update