मोरङ कारागारमा रहेका कैदीको मृत्यु
विराटनगर— मोरङ कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ ।
हाडनाता करणी मुद्दामा दोषी ठहर भइ कैद भुक्तान गरिरहेका बेलबारी नगरपालिका–४ का ६७ वर्षीय अम्मरबहादुर राईको मृत्यु भएको हो ।
जेलर गौरव ढुंगेलका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि राईलाई उपचारका लागि दिउँसो २:१५ बजेतिर कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको दिउँसो मृत्यु भएको हो ।
जिल्ला अदालत मोरङले २०७३ साल माघ ९ गते उनलाई १४ वर्ष कैद सजाय सुनाएको थियो । राई २०७३ जेठ २३ गतेबाट कारागारमा थिए । महिला र पुरुष गरी ३ सय क्षमता रहेको मोरङ कारागारमा १ हजार १ सय १० जना कैदीबन्दी छन् ।
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१ १८:१५