News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आंशिक शिक्षकले विभागीय प्रमुखलाई 'तँलाई मार्छु भनेपछि...'

काठमाडौं— सामाजिक सञ्जालमा बिहीबारदेखि एउटा भिडिओ भाइरल छ, आंशिक शिक्षकले विभागीय प्रमुखलाई हेलमेट उचालेर कुट्न खोजेको । 

उक्त भिडिओ १३ वैशाखको हो, तर, बिहीबारमात्र सार्वजनिक भयो । भिडिओमा आंशिक शिक्षक ललित विष्टले त्रिभुवन विश्वविद्यालय समाजशास्त्रका केन्द्रीय विभागका विभागीय प्रमुख डा. युवराज लुइँटेललाई उनको कार्यकक्षमा हेलमेट उचालेर बसिरहेको स्थानबाट आक्रोशित भई उठेर हान्न खोजेको देखिन्छ । साढे दुई घण्टाको फुटेजमा १५ मिनेटको फुटेज मात्र देखाइएको बताइएको छ । 

विश्वविद्यालयका अनुसार करिब १२ः४० मा आफ्नो विषय पढाउने समयमा विष्ट कार्यालय प्रमुखको कोठामा गएका थिए । ‘त्यसदिन पनि उहाँले भन्नुभयो, तपाईंलाई तीनजना चाहिँदैन ? मेरो चिठ्ठी केन्द्रले फ्रिज गरेर राखेको छ । यसबारेमा केन्द्रमा कुरा गर्न कहिले जाने, आज जाने कि भोलि जाने, कि राजीनामा दिने ?,’ विभागीय प्रमुख लुइँटेलले भने । 

Prabhu Bank

आफ्नो सम्भावित बढुवालाई लिएर आंशिक शिक्षक विष्ट विभागीय प्रमुखसँग झगडा गर्न गएको यो पहिलोपटक होइन । ‘पटकपटक बढुवामा पर्न उहाँले मलाई धम्क्याउँदै आउनुभएको थियो । १३ वैशाखपछि १९ वैशाखमा पनि उहाँले त्यही व्यवहार दोहोर्‍याउनुभयो । ती दुवै पटक प्रहरी नआएको भए जे नि हुनसक्थ्यो,’ उनले भने । यसरी ज्यानकै जोखिम भएपछि सहकर्मीहरूको सरसल्लाहमा जाहेरी दिनुपर्छ भन्ने लागेर डा. लुइँटेलले त्रिवि पदाधिकारीलाई खबर गरे । प्रहरीमा सबै प्रक्रिया पुर्‍याउँदा भिडिओ फुटेज सार्वजनिक गर्न समय लागेको उनले न्यूजगृहलाई बताए । 

विवादको कारण ?

विभागमा पाँचजना आंशिक शिक्षक कार्यरत छन् । तीमध्ये तीनजनाको आन्तरिक रूपमा अस्थायी शिक्षकमा नियुक्त गर्न विश्वविद्यालयले विभागसँग नाम मागेको थियो । विभागले पाँचै जनाको नाम सिफारिस गरेर पठायो । विश्वविद्यालयको छानबिन समितिले त्यसमध्ये तीन प्राध्यापकलाई विश्वविद्यालयको मापदण्डअनुसार नियुक्त गर्ने प्रक्रिया छ । विभागमा शैक्षिक योग्यताअनुसार आंशिक शिक्षकहरूमा एक/एक जना जर्मनी र फ्रान्सबाट विद्यावारिधि गरेर आएका आंशिक शिक्षकहरू छन्, जो विगत १० वर्षदेखि विश्वविद्यालयमा पढाइरहेका छन् । दुईजना एमफिल गरेको र आरोपित विष्टले भने स्नाकोत्तर मात्र गरेका छन् ।

तर, उनी आंशिक शिक्षकबाट अस्थायी प्राध्यापक बन्न चाहन्थे । आंशिक शिक्षकले कक्षाभारअनुसार तलब बुझ्छन् भने अस्थायी प्राध्यापकले मासिक तलब सुविधा पाउने त्रिविको नियम छ । सोही विषयलाई लिएर करिब चार महिनाअघि विष्टले विभागीय प्रमुख लुइँटेललाई धम्काएका थिए । उनको त्यही हर्कतलाई देखेर कार्यालयमा विभागीय प्रमुख लुइँटेलले सीसीटीभी जडान गरेका थिए ।

१३ वैशाखमा पनि विष्ट कक्षाकोठामा पढाउन छोडेर लुइँटेलसँग सोही विषयमा विवाद गर्न आएका थिए । ‘योग्यताको आधारमा पनि थाहा पाइहाल्नु भयो, छानबिन समितिले कसलाई छान्नेछ । सो समितिमा म पनि नपर्न सक्छु । तर, उहाँलाई जसरी पनि अस्थायीमा आफ्नो नाम पार्नु थियो,’ उनले स्पष्ट पारे । 

यस्तै, पहिलेदेखि विष्ट कुरा नसुन्ने, तर्कसंगत कुरा नगर्ने, हरेक बैठकमा पनि सधैँ एकोहोरो अनेक लाञ्छनाहरू लगाउने विभागीय प्रमुख लुइँटेलको आरोप छ । भन्छन्, ‘उहाँले त मलाई खुल्लमखुला तँलाई मार्छु भनेर धेरैपटक धम्की नै दिनुभएको छ । अत्ति भएपछि फुटेज सार्वजनिक गरेको हुँ । कार्यालय परिसरमा भयरहीत वातावरणमा काम गर्न पाउने वातावरण हुनुपर्‍यो ।’ 

प्रक्रियाबिनै आंशिक शिक्षक बनेका विष्ट

घटनाबारे शिक्षक विष्टसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्वीच अफ थियो । विगत चारवर्षदेखि त्रिविमा लैङ्गिक अध्ययन पढाइरहेका विष्ट विधि तथा प्रक्रियाबिना विभागमा आंशिक प्राध्यापक नियुक्त भएको त्रिविका एक प्राध्यापकले जानकारी दिए । त्यसबेला त्रिविका उपकुलपति तीर्थ खनियाँ, रजिष्टार डिल्ली उप्रेती, समाजशास्त्र विभागीय प्रमुख प्रा.डा. तुल्सीराम पाण्डे, उप-प्राध्यापक टीकाराम गौतम, प्राध्यापकमाथि हिंसा गरेका आरोपित एवम् नेपाली कांग्रेसनिकट विद्यार्थी नेता हरि आचार्य र श्यामचन्द्र अधिकारीसहितको समूहले विष्टसहित अन्य दुई जनालाई उक्त विभागमा प्रक्रियाबिना आंशिक शिक्षकमा नियुक्त गर्न भूमिका खेलेका थिए । 

विष्टका थेसिस गाइडसमेत रहेका टीकाराम गौतमको जोडबलमै एमालेको खोल ओडेर विष्टले उक्त विभागमा जागिर पाएको ती प्राध्यापकको भनाइ छ । 

बिहीबार नै जिल्ला प्रहरी परिसर टेकुमा ललित विष्टविरुद्ध उजुरी परेको र कार्बाहीको प्रक्रिया अगाडि बढीरहेको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । 

यसरी विभागीय प्रमुखलाई भौतिक आक्रमणसम्म गर्न नहिच्किच्याउने विष्टले कक्षा सञ्चालन गर्न पाउछन् कि पाउँदैनन् भनेर न्यूजगृहको प्रश्नमा विभागीय प्रमुख लुइँटेलले आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भन्दै प्रश्न पन्छाए । यसै प्रश्नको उत्तर मानविकी सङ्कायकी प्रा.डा. कुसुम शाक्यसँग बुझ्दा उनले विष्ट के कसरी विभागमा नियुक्त भएको र उनको वैधताबारे आफू अनविज्ञ भएको बताइन् । भन्छिन्, ‘घटनाबारे मैले सुनेको मात्र छु । उहाँ के कसरी नियुक्त हुनुभयो, मलाई थाहा भएन । उहाँलाई जसले नियुक्त गरेको हो, त्यो विभागीय प्रमुखलाई नै सोध्नुहोला ?’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १६:४०
Weather Update