News Griha :: न्यूजगृह
लोकसेवाको परीक्षा कतिपटक दिन पाउने ?, यस्तो छ आयोगको प्रस्ताव
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धमा छलफल हुँदै ।तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं— लोकसेवा आयोगले एउटा व्यक्तिले बढीमा कति पटक परीक्षा दिन पाउने भन्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ । राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले सेवा प्रवेशको उमेर घटाउनुपर्ने बताए ।

सेवा प्रवेशमा खुल्लाको हकमा ३२ र महिला तथा अपांगताको हकमा ३७ वर्ष हुनुपर्ने प्रस्ताव आयोगको छ । लामो समयसम्म परीक्षामा सहभागी हुन पाउने विषयले जीवन नै बर्बाद गरेको उनले बताए ।

'धेरै लामो अवधिसम्म कुनै व्यक्तिलाई अवसर प्रदान गरिरहँदा त्यसलाई अवसर मात्रै प्रदान गरेका छैनौँ । त्यसको जीवन पनि बर्बाद गरेका छौँ,' उनले भने, 'जो मान्छे चार–पाँचपटक परीक्षा दिँदा पनि पास नै हुन सक्दैन । त्यसलाई २०औँ पटक जाँच दिने अवसर दिँदा त जीवनभर प्रेसरमा रहने भयो ।'

उनले लोकसेवाको परीक्षामा अवसर दिएर दुःख दिनु उचित नभएको बताए । 'घरपरिवारबाट पनि फलानाले पास गरिसक्यो । तँ जाँच दिन पर्छ भनिरहने । गरिब जनताका छोराछोरी डेरा लिएर काठमाडौं शहरमा बस्न बाध्य हुनुपर्ने,' उनले भने, 'बाआमा, श्रीमतीले पनि पास गर्नै पर्छ भनेर दबाब दिइरहने । उ पास गर्छु भनेर आइरहने । पासै गर्न नसक्ने ।'

उनले पास हुन नसक्ने व्यक्तिलाई सहजीकरणका लागि परीक्षाको हद तोक्नुपर्ने बताए । 'योग्यता, क्षमता नभएको मानिस ५०औँ पटक जाँच दिए पनि पास हुनसक्दैन । त्यस्ता व्यक्तिलाई समयमा नै मुक्त गरेर वैकल्पिक मार्ग अपनाउन सहजीकरण गरेकाले लोकसेवा आयोगले यो प्रस्ताव गरेको हो,' उनले भने, 'यो वर्ष अफिसरमा जति खुल्छ फ्रेस ग्याजुएटको अधिकार हो नि त्यो । आफ्नो अवसरमा चाहीँ पास हुन नसक्ने । पछि आफ्ना जुनियरको अवसरमा रटेर, घोकेर पास गर्न मिल्छ ?,' उनले भारतमा एक व्यक्ति ६ पटक मात्रै परीक्षामा सहभागी हुन पाउने व्यवस्था रहेको बताए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १८:४१
Weather Update