काठमाडौं— जिल्ला अदालत कास्कीमा सूर्यदर्शन सहकारी पीडितका कानुन व्यवसायीले बहस गर्दैगर्दा रवि लामिछानेले आपत्ति जनाएका छन्। जाहेरवाला सहकारी पीडितका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गर्दैगर्दा लामिछानेले आपत्ति जनाएका हुन्।
लामिछानेले नेपालमा मात्र नभएर अमेरिकामा पनि कर छली गरेर नेपाल आएको र अमेरिकाको विभिन्न अदालतमा मुद्दा रहेको कुरा उठाएका थिए। भण्डारीले उक्त कुरा उठाउन थालेपछि लामिछानेले हात उठाएर ‘अब्जेक्सन’ भनेको सहकारी पीडितका अर्का कानुन व्यवसायी अधिवक्ता युवराज पराजुलीले बताए।
‘वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहसका क्रममा रवि लामिछानेले अमेरिकामा पनि कर छली गरेको विषय उठाउनुभयो, त्यसपछि रवि लामिछानेले हात उठाएर अब्जेक्सन भन्नुभयो,’ उनले भने। लामिछानेले आपत्ति जनाएपछि न्यायाधीश नीतिज राईले रोकेका थिए। उनले तपाईंका कानुन व्यवसायीले पछि बहस गर्नुहुन्छ भनेर रोकेको अधिवक्ता पराजुलीले बताए। त्यसपछि लामिछानेले चुपचाप बहस सुनेका थिए।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले राखेको बचत रकम अपचलन गरेको आरोपमा मुद्दा लागेका लामिछानेसहित ७ जनाविरूद्ध जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ। मंगलबारदेखि सुरू भएको थुनछेक बहसमा बुधबार सरकारी वकिलको बहस सकिएको थियो। बिहीबार भने जाहेरवाला सहकारी पीडितका कानुन व्यवसायीले बहस गरेका थिए।
सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता भण्डारी, दिनेश त्रिपाठी, अधिवक्ताहरू युवराज पराजुली, रामचन्द्र गौतम, हरि कट्टेल र बिबी विष्टले बहस गरेका थिए। पीडितका तर्फबाट बहस गर्दै उनीहरूले आफू संचालक र प्रबन्ध निर्देशक (एमडी) भएको कम्पनीमा लगानीको स्रोत थाहा छैन भन्नु छलकपट भएको जिकिर गरेका छन्।
‘आफू एमडी भएको कम्पनीमा कहाँबाट पैसा आयो मलाई थाहा छैन भनेर कानुनले उन्मुक्ति दिँदैन,’ पराजुलीले भने, ‘थाहा छैन भन्नु आफैमा सन्दिग्ध कुरा भयो। सम्मानित अदालतमा ढाँटछल गर्न भएन नि।’
पोखराको सूर्यदर्शन सहकारीबाट लामिछानेको नाममा १ करोड रुपैयाँ कारोबार भएको कुरा सहकारी संचालकहरूले नै बयानमा बताइसकेको भन्दै उनीहरूले यसरी नै सहकारीका गैरसदस्यले विभिन्न नाममा पैसा लगेर पीडितको बचत हिनामिना भएको दाबी गरे।
‘रवि लामिछानेको नाममा १ करोड रुपैयाँ पुलेसो कर्जा भनेर गएको सहकारीका संचालकहरूले नै बताइसकेका छन्,’ पीडितका कानुन व्यवसायीले बहसमा भने, ‘यसरी गैरसदस्यले पैसा लगेर नै अहिलेको अवस्था आएको हो नि।’ लामिछाने दम्पतीका नाममा भएको २७ करोड बढी कारोबारको स्रोत पनि नखुलेको उनीहरूले जिकिर गरे। आफू एमडी भएको कम्पनीबाट श्रीमतीका कम्पनीमा पैसा लगानी गर्ने र श्रीमतीलाई पैसा दिने काम भएको पनि उनीहरूले बहसमा उठाएका थिए।
देशका प्रमुख सहरहरूमा सहकारी खोलेर सर्वसाधारणको रकम हिनामिना गर्ने ‘ग्राण्ड डिजाइन’ मै काम भएकोले संगठित अपराध देखिएको पराजुलीले बताए। ‘नेपालका मुख्य सहरमा सहकारी खोल्ने, सबै सहकारीका संचालक उही व्यक्तिहरू हुने र यी सहकारीहरूमा सर्वसाधारणले बचत राखेको रकम विभिन्न कम्पनीमा लगेर अपचलन गर्ने ग्राण्ड डिजाइन देखिन्छ,’ उनले भने।
जीबी राई समूहले सहकारीमा राखिएको बचत रकम ४० भन्दा बढी कम्पनीमा लगेर अपचलन भएको उनले बताए।
‘देशभर सहकारीमा राखेको पैसा काठमाडौंमा छविलाल जोशीको घरमा बसेर स्थानान्तरण गर्ने, एउटाको नामबाट अर्कोको नाममा, एउटा कम्पनीबाट अर्को कम्पनीमा, अर्कोबाट अर्कोमा लगेर लेयरिङ गर्ने काम भएको देखिन्छ,’ उनले भने, ‘कानुनले यसो गर्न दिँदैन, अभियुक्तहरूलाई थुनामै राखेर पुर्पक्ष गरियोस्।’ बहसमा आफूहरूले उठाएका तर्कको तथ्य प्रमाण अभियोगपत्रसँगै अदालतमा पेस भएको पनि उनीहरूले बताएका थिए।
बिहीबार जाहेरवाला सहकारी पीडितका तर्फबाट ६ जना कानुन व्यवसायीले बहस गरेका सकेका छन्। समय अभावले आज प्रतिवादीका कानुन व्यवसायीले बहस गर्न भ्याएनन्। भोलिदेखि प्रतिवादीका कानुन व्यवसायीले बहस गर्नेछन्। शुक्रबार प्रतिवादी पूर्वडिआइजी छविलाल जोशीका ६ जना कानुन व्यवसायीले बहस गर्नेछन् भने त्यसपछि रवि लामिछानेका १५ जना कानुन व्यवसायीले बहस गर्नेछन्। लिला पछाईंका तर्फबाट १ जना कानुन व्यवसायीले बहस गर्नेछन् भने बाँकी प्रतिवादीका तर्फबाट २/२ जना कानुन व्यवसायीले बहस गर्नेछन्।
थुनछेक बहसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, पूर्वडिआइजी जोशी, नेचर हर्ब्स इन्टरनेसनलका सञ्चालक रामप्रसाद खनाल, लिला पछाईं, मिना गुरूङ, कृष्णबहादुर गुरूङ र आरती गुरूङ प्रतिवादी छन्। उनीहरूविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐन विपरीत कसुर गरेको अभियोग छ।
जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारी ठगी आरोपमा २०८० असोज १८ गते १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। उक्त मुद्दा अहिले पनि जिल्ला अदालतमा विचाराधीन छ। उनीहरूविरूद्ध पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको थप अभियोग अदालतमा पेस गरिएको छ।
सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी राई), उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरूद्ध मुद्दा दर्ता गरिएको छ। पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरूङ, भविश्वर अर्याल र आइस्मा गुरूङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरूङविरूद्ध मुद्दा दर्ता भएको थियो।
सूर्यदर्शन सहकारी ठगीमा मुछिएका सहकारी सञ्चालक लगायत व्यक्तिविरूद्ध सुरूमा दर्ता गरिएको मूल अभियोग, थप अभियोग र रवि लामिछानेसहित जोडिएको पूरक अभियोग गरी ८ वटा कम्पनीसहित ६३ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूसँग १ अर्ब ५१ करोड बढी रकम बिगो माग गरिएको छ।