काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङ जिल्ला सेक्रेटरी अमर खड्का (नवीन) लाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेका खड्कालाई घोराही उपमहानगरपालिका वडा नम्बर १९ बाट बुधबार पक्राउ गरेको बताए।
सुदखोर र मिटर ब्याजीको आरोपमा मंसिर ६ गते घोराही उपमहानगर १५ बिपी चोकनजिकै ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी ५७ वर्षीया श्रीमती माधवा बस्नेतमाथि खड्का नेतृत्वको समूहले दुर्व्यवहार गरेका थिए। त्यसअघि असोज २९ गते नेकपा (एमाले) दाङका जिल्ला सल्लाहकार सदस्य घोराही उपमहानगर १४ लखन पार्कनजिकै बस्ने दुर्गा पन्थमाथि मोसो दलेको उनीमाथि आरोप छ।
दुवै घटना पछि नेकपा (बहुमत) का जिल्ला सेक्रेटरी अमरले निकालेर घटनाको जिम्मा लिएका थिए। दुवै घटना घटाएर अमर र उनका पार्टीका सदस्यहरू फरार थिए। प्रहरीका अनुसार यी दुवै घटनाका पीडितले कसैका विरूद्ध किटानी जाहेरी भने दिएका छैनन्।
प्रहरी अधिकारीले पीडितहरूलाई जिल्ला सेक्रेटरी खड्का लगायतका नाममा किटानी जाहेरी दिन आग्रह गर्दै आएको भए पनि उनीहरूले हालसम्म जोहरी भने दिएका छैनन्।
खड्कालाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीको तयारी छ। उनीमाथि कानुनी कारबाही गरिने पनि प्रहरीले जनाएको छ।