News Griha :: न्यूजगृह
देशका ६ स्थान अस्वस्थकर, सबैभन्दा बढी प्रदूषित धनगढी

काठमाडौं—  बुधबार काठमाडौं उपत्यकासहित देशभरका ६ शहर अस्वस्थकर बनेका छन् । पछिल्लो २४ घण्टाको वायुको गुणस्तरका आधारमा ती शहर अस्वस्थकरको सूचीमा परेका हुन् ।

वातावरण विभागका अनुसार, उपत्यकाका रत्नपार्क र खुमलटार, कैलालीको धनगढी, दाङको देउखुरी, धनुषाको जनकपुर र चितवनको भरतपुरमा २४ घण्टाको औसत ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १५१ भन्दा माथि छ ।

सबैभन्दा धेरै एक्यूआई धनगढीमा १७४ छ । रत्नपार्कमा १५८ छ । यस अवधिमा धनगढीको वायुमा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर १०६.३२८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ । रत्नपार्कमा यो मात्रा ८६.५ पुगेको थियो ।

पीएम २.५ का हिसाबले भने बुधबार बिहान रत्नपार्क सबैभन्दा बढी प्रदूषित भएको पाइएको छ । त्यहाँ बिहान ८ बजे पीएम २.५ को मात्रा १२७.४३८ पुगेको विभागको रेकर्ड छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एक्यूआई १५० भन्दा माथि रहेको वायु अस्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति हानिकारक मानिन्छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १२:३८
Weather Update