News Griha :: न्यूजगृह
मुकुललाई रास्वपाको पुरानै जिम्मेवारीमा फर्काउन माग गर्दै नेतृत्वलाई पत्र

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्कासनमा परेका पूर्व महामन्त्री मुकुल ढकाललाई पार्टीको पुरानै जिम्मेवारीमा फर्काउनु पर्ने माग उठेको छ । कोशीका सभापति राजेश तिम्सिना र मधेसका महामन्त्री तपेश्वर यादवले मुकुललाई पार्टीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका हुन् ।

ढकाललाई निष्कासन गरिसकेपछि पार्टी अझै कमजोर भएको कोशीका सभापति तिम्सिनाले पत्रमा उल्लेख गरेका छन् । तिम्सिनाले पूर्व महामन्त्री ढकाललाई पार्टीबाट हटाउनका लागि गरेको निर्णयको हस्ताक्षर फिर्ता लिएको समेत पत्रमा लेखेका छन् ।

‘राइट टु रिकलको प्रावधानलाई नीतिमै अवलम्बन गरेको हाम्रो पार्टीमा यसरी हस्ताक्षर र सहमति फिर्ता गर्नु पार्टी नीतिमै रहेको तथ्य मैले बुझेको छु । यसर्थ, पार्टीमा डा. मुकुल ढकाललाई पुरानै जिम्मेवारी सहित फिर्ता बोलाउनुपर्छ भन्ने मत जाहेर गर्दछु,’ तिम्सिनाले पत्रमा लेखेका छन् । एकापसमा भिडेर भन्दा मिलेर पार्टी बनाउनुपर्ने आवश्यकता रहेकाले कारबाही फिर्ता पत्र पठाएको तिम्सिनाले बताए ।

ढकाललाई हटाउन गरेको हस्ताक्षर फिर्ता लिएको मधेशका महामन्त्री यादवले लेखेका छन् । रास्वपा हाल सबैभन्दा ठूलो संकटको घडीमा रहेको यादवले लेखेका छन् ।

‘रास्वपाले रास्वपा मात्रको भविष्य निर्धारण गरिरहेको छैन, समग्र वैकल्पिक राजनीति र त्योभन्दा ठूलो नेपाली जनताको आशाको भविष्य पनि निर्धारण गरिरहेको छ । कसैसँग रिस, राग, द्वेष र अनुराग नराखिकन एक आपसका सबै तुष सबै पक्षबाट त्यागौं र संकटको यो घडी फुटेर होइन जुटेर सामना गरौं,’ यादवले लेखेको पत्रमा भनिएको छ ।

रास्वपाले संस्थापक महामन्त्री एवम् प्रवक्ता ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी गत असारमा हटाएको थियो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १२:१८
Weather Update