काठमाडौं— अङग्रेजी वर्षको पात्रो फेरिएसँगै आजबाट पृथ्वीमा जन्म लिने नयाँ पुस्ताको नामाकरण पनि फेरिएको छ । सन् २०१० देखि २०२४ को डिसेम्बर ३१ सम्म जन्मेकालाई जेनेरस अल्फा भनिँदै आएकोमा अब उपरान्त जन्मिनेहरू जेनेरेसन बीटा भनिनेछन् । यो पुस्तामध्ये कतिपयले २२ औं शताब्दीको अनुभव गर्न पाउनेछन् ।
आर्टिफिसियल इन्टेलिजेन्स, नवीकरणीय ऊर्जा र सम्भवतः मंगल ग्रहमा बसोबास गर्ने युगको व्यापक चर्चामाझ जेन बीटाले आफ्नो जीवन बिताउनेछन् । उनीहरूको बाल्यकाल स्मार्ट डिभाइस र एआईसँग जोडिनेछ । सन् २०२५ देखि २०३९ सम्म जन्मिनेहरूको यो पुस्ता युवा मिलेनियल्स र पाको जेन जीका सन्तान हुनेछन् ।
हिजोसम्म जेन अल्फा सबैभन्दा कान्छो पुस्ताका रूपमा थिए । यो पुस्ता पूरै २१ औँ शताब्दीमा जन्मिएकाो पहिलो पुस्ता थियो । उनीहरू प्रविधिको प्रयोगमा निकै दख्खल राख्छन् । स्मार्टफोन र सामाजिक सञ्जाल उनीहरूको दैनिक जीवनको हिस्साका रूपमा रहेको छ । त्यसअघि सन् १९९० को दशकको मध्यदेखि २०१० सम्म जन्मिएकालाई जेनेरेस जी भन्ने गरिएको छ । यो पुस्ता पनि डिजिटल प्रविधिमा माहिर छ । उनीहरू इन्टरनेट, सामाजिक सञ्जाल र मोबाइल प्रविधिसँगै हुर्किएका हुन् ।
सन् १९८० को दशकको सुरुदेखि १९९० को दशकको मध्यसम्म जन्मेका मिलेनियल्स वा ‘जेन वाई’ का रूपमा लिइन्छ । यो पुस्ता एनालग प्रविधिबाट डिजिटल युगमा सरेको पहिलो पुस्ता हो । सामाजिक सञ्जाल र स्मार्टफोनलाई सहज रूपमा आत्मसात गर्ने पुस्ता पनि मिलेनियल्स हुन् ।
त्यस्तै, सन् १९६० को दशकको मध्यदेखि १९८० को दशकको शुरुसम्म जन्मेकालाई ‘जेन एक्स’ भनिन्छ। उनीहरू पर्सनल कम्प्युटर र इन्टरनेटका सुरुवाती प्रयोगकर्ता हुन् । सन् १९४० को दशकदेखि १९६० को दशकको मध्यसम्म जन्मिएका ‘बेबी बुमर्स’ पुस्ताले सामाजिक परिवर्तन र आर्थिक वृद्धिको समय देखे ।
सन् १९२० को दशकदेखि १९४० को दशकम्म जन्मिएको ‘साइलन्ट जनरेशन’ ले आर्थिक मन्दी र दोस्रो विश्वयुद्धको कठिन समय सामना गर्यो । सन् १८०० को अन्त्यदेखि १९०० को सुरुदेखि जन्मिएका ‘लस्ट जनरेशन’ ले पहिलो विश्वयुद्धको प्रभाव अनुभव गरे ।
अब जनरेशन बीटाले तीब्र गतिमा विकसित भइरहेको प्रविधि र वातावरणीय चुनौतीहरूको युगमा आफ्नो पहिचान बनाउनेछ । यसले नयाँ सोच र नवप्रवर्तनमार्फत विश्वलाई अगाडि बढाउने आशा गर्न सकिन्छ । सन् २०३९ पछि जन्मिने पुस्तालाई के भन्ने भनेर अहिले तय भइसकेको छैन । त्यो बेलाको सामाजिक प्रवृत्ती, सांस्कृतिक रुपान्तरण र युग जताउने विशेषता हेरेर पुस्ताको नामकरण गर्ने गरिएको छ ।
पुस्ताको नामाकरण
सन् २०१०-२०२४ : जेन अल्फा
१९९०-२०१० : जेन जी
१९८०-१९९० : मिलेनियल्स वा जेन वाई
१९६०-१९८० : जेन एक्स
१९४०-१९६० : बेबी बुमर्स
१९२०-१९४० : साइलन्ट जेनेरेसन
१८००-१९०० : लस्ट जेनेरसन