News Griha :: न्यूजगृह
खाद्यान्नको जोहो गर्न विज्ञको सुझाव, के भन्छ सरकार ? 

काठमाडौं— विज्ञहरूले योवर्ष खाद्यान्न सङ्कट हुने चेतावनी दिएका छन् । 

हिउँदमा पनि आवश्यक वर्षा नभएको र आगामी मनसुनमा कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागु गर्नुपर्ने विज्ञहरूको सुझाव छ । 

नेपालमा यस वर्षको वर्षा याममा आवश्यक मात्रामा वर्षा नहुँदा सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिने र वातावरणीय समस्या उत्पन्न हुनेतर्फ सरकारलाई सचेत गराएका छन् । विज्ञहरूले गत वर्षको हिउँदमा पनि आवश्यकभन्दा कम वर्षा भएको र वर्षा याममा पनि सुक्खा खडेरी पर्ने हुँदा भोकमरी, कृषि उत्पादनमा कमीलगायत अन्य समस्याहरू सिर्जना हुनसक्ने भन्दै पूर्वतयारीका साथ रहनुपर्नेमा जोड दिएका हुन् । 

जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले यसपटकको वर्षा याममा आवश्यक वर्षा नहुने भन्दै सरकारले खाद्य सुरक्षाका लागि आवश्यक रणनीति बनाइ पूर्वतयारी थाल्नुपर्ने सुझाव दिए । उनले गहुँ, धान, मकैलगायत बालीहरूमा कमी आउने र खाद्यान्न पहिलाको भन्दा बढी आयात गर्नुपर्ने स्थिति आउनसक्ने भन्दै समयमा नै पूर्वतयारी गर्न सरकारलाई सुझाव दिएका हुन् । 

उनले वर्षायाम आउँदा समुन्द्रको सतहको तापक्रममा आएको उत्तारचढावका कारण कम वर्षा हुने बताए । यसवर्षको वर्षायाममा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण विभिन्न अध्ययनले देखाइसकेको भन्दै आकाशे खेतीहरू घट्ने बताए । 

उनले दक्षिण एसिया क्षेत्रमा यसपटक कम वर्षा हुने आकलन गरिएकाले त्यसको असर नेपालमा पनि पर्ने बताए ।

‘धेरै अध्ययन हेर्दा थोरै वर्षा हुने भनिएकाले यसको सिधा असर हाम्रो कृषि प्रणालीमा, उत्पादनमा देखिन्छ । आकाशे पानीमा भर परेर गरिने खेतीको उत्पादकत्व घट्छ, यसले खाद्यान्नमा असर पर्छ,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर भएको बेलामा झनै खाद्यान्न आयात गर्नुपर्ने अवस्था आयो भने त्यसको लागि हामीले आजैदेखि तयारी गर्नुपर्छ, त्यसको आकलन गर्नुपर्छ । ’

यसैबीच, सरकारले आगामी मनसुन सिजनमा कम वर्षा हुने मौसमविद्हरूको आकलन रहेको भन्दै खाद्यान्न जोहो गर्नुपर्नेमा सरकार सचेत रहेको बताए । 

बिहीबार जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन सिजनको अवस्थाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोवन्दप्रसाद शर्माले मौसमविद्हरूको अनुमानलाई मध्यनजर गरेर सरकारले मौसमी अन्नबालीमा लगानी बढाउनुपर्ने आवश्यक्ता औँल्याएको बताए । 

उनले विगतका वर्षहरूको तुलनामा यसवर्ष आकाशे पानी मनसुन सिजनमा कम हुने आकलन रहेको भन्दै त्यही अनुसार सरकारले आवश्यक रणनीति बनाइरहेको बताए । 

उनले मनसुन सिजनमा विशेष गरी धान रोप्ने बेलामा मध्यनजर गरी सिंचाईमा विशेष जोड दिनुपर्ने देखिएको बताए । 

सचिव शर्माले सरकारले सबै पालिकाहरूमा मौसमबारे पूर्वसूचना प्रणाली विस्तार गरी नागरिकलाई सुसूचित बनाउनुपर्ने बताए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १४:१८
Weather Update