News Griha :: न्यूजगृह
विदेशबाट आउनेमा देखिन थाल्यो ‘मंकीपक्स’ तर सरकारले गरेको छैन रोकथामको तयारी

काठमाडौं— एक हप्ताको फरकमा नेपालमा पुनः ‘मंकीपक्स’ संक्रमित भेटिएका छन्।​ आइतवारमात्र साउदी अरेबियाबाटै आएका एक युवा मंकीपक्ससँग मिल्दाजुल्दा लक्षण लिएर  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए।

त्यसपछि अस्पतालले स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को समन्वयमा नमूना परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उक्त परीक्षणमा मंकीपक्स पोजेटिभ देखिएको इडिसिडी स्रोतले जनाएको छ।

यसअघि गत पुस ५ गते साउदी अरेबियाबाट आएका एकजनामा मंकीपक्स पुष्टि भएको थियो। तनहुँ घर भएका ३६ वर्षीय ती पुरुष सुरुमा ग्राण्डी इन्टरनेशनल अस्पताल उपचारको लागि पुगे पनि मंकीपक्सको शंकास्पद लक्षण देखिएपछि टेकु अस्पताल रिफर भएका थिए। त्यहीबाट नमूना राष्ट्रिय प्रयोगशालाम परीक्षण गर्दा मंकीपक्स पुष्टि भएको थियो।

उनको अहिले पनि सरुवा रोग अस्पताल टेकुमा उपचार जारी छ। टेकु अस्पतालका निर्देशक डा युवानिधि बसौलाले भने‚ ‘१० दिनदेखि एक मंकीपक्स संक्रमित विरामीको हाम्रोमा उपचार भइरहेको छ। अहिले उहाँको स्वास्थ्य सुधार हुँदै गएको छ‚ अब एक दुई दिनमा डिस्चार्ज पनि हुन्छ होला, फेरि हिजोमात्रै साउदीबाटै आउनु भएका अर्का शंकास्पद विरामी भर्ना हुनु भएको छ। हामीले परीक्षणका लागि नमूना पठाएका छौँ तर रिपोर्ट आइपुगेको छैन।’

तर इडिसिडी स्रोतले भने अनुसार आइतबार ‘मंकीपक्स’ पोजेटिभ भएका ४४ वर्षीय नेपाली पुरुषमा जटिल खालका लक्षण देखिएको छ। उनको लिङ्ग पूरै सुन्निएको छ भने शरीरभरि बिमिरा आएको छ। यद्यपि यस विषयमा हालसम्म स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा केही जानकारी सार्वजनिक गरेको छैन। 

योसँगै नेपालमा मंकीपक्सका विरामी ३ जना भएका छन्। यसअघि २०८० साल असारमा विदेशबाट आएकी एकजना ६० वर्षीया विदेशी महिलामा मंकीपक्सको संक्रमण देखिएको थियो।

लगातार मंकीपक्स भेटिए पनि छैन सरकारको पूर्वतयारी

पछिल्लो एक सातामै विदेशबाट आउनेमा लगातार मंकीपक्सका दुई केस पुष्टि हुनुले संक्रमण ह्वात्तै बढ्ने जोखिम बढे पनि हालसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण रोक्न तथा संक्रमण देखिइसकेपछि फैलन नदिन अपनाउनुपर्ने पूर्वतयारी खासै गरेको छैन।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार हाल कसैलाई मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण छन् भने अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५० मा सम्पर्क गरी परामर्श लिन सकिने,  साथै यसको निदानका लागि मन्त्रालयबाट हरेक प्रदेशमा अस्पतालहरुसमेत तोकि विशेषज्ञहरु तोकिसकिएकोले हुनाले उनीहरुबाट परामर्श लिन सकिने जनाएका छन्।

‘मंकीपक्सको शंका लागे मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५० मा सम्पर्क गरी परामर्श लिन सकिन्छ भने प्रदेशमा अस्पतालहरुसमेत यससम्बन्धी  फोकल व्यक्तिको रुपमा विशेषज्ञहरु तोकिसकिएकोले त्यहाँबाट  पनि सेवा लिन सकिन्छ‚’ उनले भने।

लगातार संक्रमितहरु भित्रिने क्रम बढ्दै गएको समयमै सीमा तथा अन्तरराष्ट्रिय नाकाहरुमा कडाइका साथ निगरानी गर्नुपर्ने भए पनि त्यो कम भएको स्वास्थ्य मन्त्रालयका अर्का एक उच्च कर्मचारीको भनाइ छ।

‘हुन त यसअघि नै विभिन्न संक्रमणहरुको उपचार/रोकथाममा प्रयोग गरिने औषधिहरुले मंकीपक्सको उपचार रोकथाममा पनि काम गर्छ भनिएको छ तर यसरी नै संक्रमितहरुको संख्या बढ्दै जाँदा संक्रमण फैलने जोखिम हुन्छ यस्तो अवस्थाम हाम्रो संरचनाले धान्न नसक्ने हुनसक्छ। त्यसैले यो बेला भनेको रोकथामको लागि कडाइ गर्नु पर्ने बेला हो‚’ मन्त्रालयका ती कर्मचारीले भने।

अहिले अन्तरराष्ट्रिय हवाई नाकाको हेल्थ डेस्कलाई समेत कडाइ गरिएको छैन। यसले गर्दा संक्रमण फैलिइरहेका साउदी अरबिया जस्ता  देशहरुबाट  आउने मानिसहरुको निगरानी कमजोर छ। यसबाट संक्रमण छिटो समुदायमा फैलने जोखिम हुने भएकाले बेलैमा सतर्कताका साथ रोकथामका कामहरु गर्नुपर्ने भए पनि यसको लागि खासै काम नभएको मन्त्रालयका ति कर्मचारीको भनाइ छ।

 के हो मंक्किपक्स?

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार मंकीपक्स एउटा दुर्लभ किसिमको सरुवा रोग हो, जुन मंकीपक्स नामक भाइरसका कारण हुन्छ। यो भाइरस दादुरा गरउने बेरियोला भाइरसकै प्रजातिसँग सम्बन्धित ‘अर्थोपक्स’ वंशको हो।

पहिलो पटक सन् १९५८ मा फेला पारिएको यो रोग ‘जुनोसिस’ अर्थात संक्रमित जनावरबाट मान्छेमा फैलिन्छ। मंकीपक्स भाइरस पश्चिम र मध्य अफ्रिकाका केही ठाउँमा संक्रमित जंगली जनावरहरूमा पाइएको थियो।

डब्ल्युएचओका अनुसार मंकीपक्सका धेरै संक्रमण सामान्यभन्दा बढी वर्षा हुने उष्णकटिबन्धीय जंगलमा पाइएको छ। मंकीपक्सका लक्षणहरु अरु संक्रमणहरु जस्तै ठेउला लुतो, दादुरा आदिसँग मेल खाने भएकोले छुट्याउन गाह्रो हुन्छ।

यसको परीक्षणको लागि घाउ खटिरा, फोका तथा नाकमुख, घाँटी आदिको स्वाब लिएर भाइरसको पी.सी.आर. प्रणालीबाट जाँच गरिन्छ ।

लक्षण

ज्वरो आउनु, सामान्य ज्वरो सुरु भएको १ देखि ३ दिनभित्र छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु, टाउको ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थि बढ्नु मंकीपक्सका लक्षण हुन्।

तर यी सबै लक्षण मानिसको शरीरमा मंकीपक्सको जीवाणु पसेको दुई हप्तापछि मात्रै देखिने बताइन्छ। यसमा ज्वरो आउने, सामान्यतया ज्वरो शुरु भएको १ देखि ३ दिनभित्र छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थिहरू बढ्ने हुन्छ। आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्कज्वर हुने, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्छ।

कसरी सर्छ?

मंकीपक्सको संक्रमणले शरीरमा घाउखटिरा आउने गर्छ। यस्ता घाउखटिरामा हुने संक्रमित पदार्थको सम्पर्कमा आउँदा उक्त भाइरस एकदेखि अर्कामा सर्ने गर्छ।

संक्रमण फैलिने माध्यममा स्पर्श गर्ने, चुम्बन तथा यौन सम्पर्क आदि पर्छन्। स्वास प्रश्वासको माध्यमबाट, बोल्दा, खोक्दा पनि एकअर्कामा सर्ने गरेको छ। एउटै सामान तथा कपडाको प्रयोग गर्दा पनि सर्नसक्ने सम्भावना रहन्छ।

संक्रमित जनावरको मासु खाँदा, शिकार गर्दा, जनावरले टोक्दा वा चिथोर्दा पनि सर्न सक्ने सम्भावना रहन्छ। अहिलेको महामारीको प्रमुख कारण भने यौनसम्पर्क रहेको पाइएको छ र यो रोग फैलिनुमा यौनकर्मीको प्रमुख भूमिका रहेको पाइएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १८:२०
Weather Update