कपिलवस्तु — आहाराको खोजीमा हिँडेको विश्वकै दुर्लभ सेतो गिद्ध भारतको अयोध्या पुगेर फेरि पोखरा फर्किएको छ । स्याटेलाइट ट्याग लगाइएको गिद्ध अनुगमन गर्दा अयोध्या हुँदै बग्ने घाँघरा नदीछेउ तीन दिन बसेर पुनः पोखरा फर्किएको गिद्ध अनुसन्धानकर्ता कृष्णप्रसाद भुसालले बताए ।
नेपालका सेतो गिद्धबारे अनुसन्धान गरिरहेका गिद्धविज्ञ भुसालले गत असोज २ गते पाँचवटा गिद्धमा स्याटेलाइट ट्याग लगाएका थिए । पोखराको लामीआल र दोबिल्ला डम्पिङ साइडमा सेतो गिद्धलाई समातेर ट्याग लगाइएको हो । तीनवटा वयस्क (४ देखि ५ वर्ष), एउटा अल्पवयस्क (३ वर्ष) र एउटा बच्चा (२ वर्ष) को गिद्धलाई ट्याग लगाइएको थियो । यिनैमध्येको एउटा वयस्क गिद्ध कार्तिक १४ गते पोखराबाट करिब २ सय ५० किमि उडेर अयोध्या पुगेको उनले बताए ।
गिद्ध पहिलो दिनमै पोखराबाट रूपन्देहीको गैडहवा तालनजिक गिद्ध रेस्टुरेन्ट पुगेको थियो । अर्को दिन लुम्बिनी आसापास बस्यो । तेस्रो दिन भारतको बलरामपुरनजिक गाईगोरुको सिनो प्रशस्त भएको ठाउँ पुगेर त्यहाँ ५ दिन बसेको पाइएको छ । त्यसपछि अयोध्याको घाँघरा नदी आसपास ३ दिन बसेर उक्त गिद्ध पोखरा फर्किएको उनले बताए ।
पोखरा आउने क्रममा अयोध्याबाट बिहानै उडेको गिद्ध कपिलवस्तुको राजापानी सामुदायिक वनमा बास बसेको र अर्कोदिन स्याङ्जाको पुतली बजार बसेर तेस्रो दिन पोखरा पुगेको भुसालले बताए ।
‘दुई साता बाहिर घुमेर फेरि गिद्ध पोखरा पुगेको थियो । अन्य चारवटा गिद्ध तनहुँ आसपास आउने जाने गरिरहेको देखिन्छ,’ उनले भने, ‘लामो मुभमेन्ट छैन । दैनिक २०/३० किमि आवतजावत गर्छन् ।’ नेपाल र भारतमा पहिलो पटक सेतो गिद्धको आहाराको खोजीमा जाने दूरी, प्रजनन गर्ने स्थान र बसाइँसराइको अवस्था र चुनौतीबारे पत्ता लगाउन ट्याग लगाइएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट अनुमति लिएर लेग होल ट्रयाप (खुट्टामा अड्काएर) पक्रिएर ट्याग लगाइएको भुसालले बताए । ‘दुई लाख मूल्य पर्ने स्याटेलाइट ट्याग ३० ग्रामको हुन्छ । स्याटेलाइट सम्पर्कबाट दुई–दुई घण्टामा तथ्यांक आउँछ । कुन दिशातिर कति उचाइ र गतिमा उडिरहेको भन्ने सबै तथ्यांक यसबाट पाइन्छ,’ उनले भने, ‘ब्याट्रीले काम गरे/नगरेको र चार्ज रहे/नहरेको सबैको जानकारी पनि आइरहने हुँदा अध्ययनमा सहज हुन्छ ।’
घामले आफैं चार्ज हुने ब्याट्री राखिएको ३ देखि ५ वर्षसम्म आयु रहेको स्याटेलाइट ट्याग जडान गर्ने भुसाल आफैं विशेषज्ञ हुन् । उनको नेतृत्वमा बुल्गेरियाका विशेषज्ञ डा. भ्लादिमिर दोब्रे र संरक्षणकर्मी दिमित्री चेरनेभा, गिद्ध विशेषज्ञ अंकितविलास जोशी र ईश्वरी चौधरीको टोलीले स्याटेलाइट ट्याग लगाएका थिए । ‘ट्याग लगाएको तीन महिना भयो । गिद्धहरूको खासै मुभमेन्ट देखिएको छैन । अयोध्या गएको गिद्ध पनि आहारकै लागि गएजस्तो लाग्छ,’ गिद्ध विशेषज्ञ जोशीले भने, ‘अब यसको प्रजननको बेला आउँदैछ । यो बेला केही नयाँ कुरा थाहा पाउन सकिन्छ ।’
कस्तो ठाउँमा कसरी गुड लगाउँछ ? कसरी बचेरा हुर्काउँछ र केके समस्या भएजस्ता सूचना पाउन सकिए संरक्षणका लागि योजना बनाउन सहयोग पुग्ने उनले बताए । एउटा बच्चा मात्र जन्माउने यो गिद्धले माघमा गुँड बनाउँछ भने फागुन/चैतमा ओथारो बसेर असारसम्म बचेरा उडाउँछ । नेपालमा दुर्लभ सेतो गिद्धको संख्या ३ सयदेखि १ हजारसम्म रहेको अनुमान छ । यसमध्ये आधा संख्या पोखरा उपत्यकामा रहेको विज्ञहरूको अनुमान छ । यसको तौल दुईदेखि तीन केजीसम्म हुन्छ । यसअघि पनि आहारा र जोडी खोज्दै दुर्लभ डंगर गिद्ध भारतको हिमाचल प्रदेशका विभिन्न स्थान हुँदै पाकिस्तानसम्म पुगेको थियो ।
सन् २०१८ मा नवलपरासीको पिठौलीबाट ११ सय किमि यात्रा गर्दै भारत र पाकिस्तानको सिमानासम्म पुगेको थियो । सिकारी चरा समूहअन्तर्गत पर्ने गिद्ध ठूलो मांसहारी पन्छी हो । यसले आफैं सिकार नगरी मरेका जनावरको सिनो खान्छ । सिनो र फालेको मासुजन्य फोहोर पदार्थ खाई वातावरणको दुर्गन्ध घटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले गिद्धलाई ‘प्रकृतिको कुचिकार’ पनि भनिन्छ ।
ईकान्तिपुरबाट।