
काठमाडौं— शुक्रबार राति चन्द्रग्रहण लाग्दैछ । यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर विरल छायाँजनित अर्थात् पेनम्ब्रल चन्द्रग्रहण हो ।
उक्त चन्द्रग्रहण आज राति ८ः५९ बजे सुरु भइ ११ः०७ बजे मध्य हुने र भोलिपल्ट बिहान १ः१६ बजे सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।
वैज्ञानिक मान्यतामा यो ग्रहणको अस्तित्व देखिए पनि शास्त्रीय मान्यतामा नदेखिने हुँदा त्यससम्बनधी धार्मिक÷सांस्कृतिक मान्यताहरू लागु नहुने अध्यक्ष भट्टराईले बताए । ‘मौसमले साथ दिए आज राति विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा रुचि राख्नेहरूले चन्द्रमाको तस्बिर तथा भिडियो खिचेर परापूर्वकालमा ज्योतिष शास्त्रको विकास हुँदा यो ग्रहणलाई किन गणना गरिएन भनी चिन्तन मनन गर्न सक्नुहुनेछ,’ उनले थपे, ‘स्मरण रहोस् यो ग्रहण नाङ्गो आँखाले ठम्याउन निकै कठिन हुन्छ ।’
के हो पेनम्ब्रल चन्द्रग्रहण ?
सूर्य र चन्द्रमाको बीचैमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो । यस्तो छायाँ दुई प्रकारका हुन्छन्, सघन छायाँ र विरल छायाँ । यदि चन्द्रमा पृथ्वीको सघन छाँयामा परे खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ भने विरल छाँयामा पर्दा पेनम्ब्रल चन्द्रग्रहण भनिन्छ ।
यो ग्रहण नाङ्गो आँखाले खासै छुट्याउन नसक्ने हुनाले प्रचलनमा रहेको पञ्चाङ्ग तथा भित्तेपात्रोहरूमा यसको चर्चा गरिएको पाइँदैन । यो ग्रहणको बेला तस्बिर खिचेर केही वैज्ञानिक परीक्षण गर्न सकिने हुनाले वैज्ञानिक समुदायको लागि यसको ठूलो महत्व छ ।
यसवर्ष सूर्यग्रहण र चन्द्रग्रहण गरेर विभिन्न प्रकारका छ वटा ग्रहण लाग्ने छन् । ७ वैशाखमा हाईब्रिड सूर्यग्रहण लागेको थियो । तर, त्यो ग्रहण भने नेपालमा लागेको थिएन । २२ वैशाख अर्थात् आज पेनम्ब्रल चन्द्रग्रहण, नेपालमा पनि लाग्नेछ । यस्तै, २७ असोजमा वलय सूर्यग्रहण लाग्नेछ, तर, त्यो नेपालमा भने लाग्ने छैन । ११ कार्तिकमा लाग्ने खण्डग्रास चन्द्रग्रहण भने नेपालबाट पनि देखिनेछ । यसैगरी, ११ चैतमा पेनम्ब्रल चन्द्रग्रहण र २६ चैतमा खग्रास सूर्यग्रहण लाग्नेछ, तर, नेपालबाट भने देखिने छैन ।