News Griha :: न्यूजगृह
प्रचण्डलाई  लक्षित गर्दै प्रधानमन्त्रीले भने- ‘म्याजिक नम्बर’ भन्दै धक्कु लगाउने दिन गए

पर्सा—  प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई लक्ष्य गर्दै अर्काको काँध चढेर 'म्याजिक नम्बर' देखाउनेका दिन गएको बताएका छन्।

पर्साको सखुवा प्रसौनी गाउँपालिकाको एमाले कमिटीले आयोजना गरेको कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डको नाम नलिई उक्त टिप्पणी गरेका हुन्।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बहाल छँदा आफूहरूसँग ३२ सिटको म्याजिक नम्बर रहेको बताएका थिए। ‘अहिले एमाले र कांग्रेसको नेतृत्वको सरकार छ, यो सरकारले गर्छ। किनभने यो सरकार देशको राजनीति अत्यन्त अस्थिर भयो। फोहोरी खेल अत्यन्त चल्यो। बदमासीहरू भए। ठूला पार्टीका बीचमा झगडा लगाउने, अनेक खालका षड्यन्त्रकारी र भ्रष्ट तत्वहरूले राज गरिरहने। एउटाको काँधबाट अर्काको काँधमा उफ्रने, अर्काको काँधबाट फेरि अर्काको काँधमा उफ्रने, अर्काको काँधमा चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउँदै मनपरीतन्त्र चलाउँदै गर्ने, अब तिनका त्यस्ता दिन गए। यो दिन जानुपर्छ भनेर नै नेकपा (एमाले) र कांग्रेसले मिलेर अहिलेको सरकार चलाएको छ,’ उनले भने।

उनले अहिलेको मिलिजुली सरकार गठबन्धन नभएको पनि बताए। ‘यो कुनै गठबन्धन होइन। तपाईंहरूलाई गठबन्धन भन्ने बानी परेको छ। यो गठबन्धन होइन, यो समीकरण हो। यो संयुक्त सरकार हो। मिलिजुली सरकार हो,’ उनले भने, ‘राजनीति स्थायित्वका लागि हामीले यो सरकार बनाएका हौं।’

उनले विगतका सरकारले थालेका र अलपत्र रहेका कामहरू पनि यो सरकारले गति दिने बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १६:२४
Weather Update