News Griha :: न्यूजगृह
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुनेछ : सञ्चारमन्त्री गुरुङ

कास्की—  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको  सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।

माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको शनिबार उद्घाटन गर्दै उनले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताएका हुन् । उनले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताए।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले भने, 'सरकारमा रहेका प्रमुख दुई दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ । यस संयन्त्रको पहिलो काम संविधान संशोधनका लागि प्रक्रियागत काम प्रारम्भ गर्नु हुनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरु शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुङ्गो लगाउने सरकारको योजना छ ।'

सञ्चारमन्त्रीले प्रदेश र स्थानीय तहका लागि आवश्यक कानुन चाँडै निर्माण गर्न प्रक्रियागत काम सरकारले अघि बढाएको जानकारी दिए  । 

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १६:५५
Weather Update