News Griha :: न्यूजगृह
सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

काठमाडौं— सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । पारिवारिक एवं अस्पताल स्रोतका अनुसार, हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको हो । हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो ।

उनी करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए । भदौं २२, २०६५ मा नियुक्त भएका उनी पदावधि नथपिएपछि चैत २९, २०७० मा अस्थाथी न्यायाधीशबाटै अवकाश भएका थिए ।

सर्वोच्च अदालतबाट अवकाश भएपछि उनी ६ वर्ष मानव अधिकार आयोगको सदस्य बने । पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा नेतृत्वको आयोगमा उनी कात्तिक २, २०७१ देखि कात्तिक १, २०७० सम्म सदस्यको रुपमा काम गरेका थिए । त्यसपछि अवकाशयुक्त जीवन बिताइरहेका उनी न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवं पुस्तक लेखनमा संलग्न थिए ।

असार ८, २०१० जन्मिएका वस्ती २०३३ सालदेखि कानून व्यवसायमा प्रवेश गरेका हुन् । उनले सूर्यनाथ उपाध्याय नेतृत्वको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कानूनी सल्लाहकार बनेर काम गरेका थिए । उनी २०६५ सालमा वरिष्ठ अधिवक्ता भएका थिए ।

भ्रष्टाचार नियन्त्रण, देवानी कानुन एवं कानूनी प्रणालीको विकासक्रमका विषयमा रुची राखेका उनले त्यसवारेमा कैयौ पुस्तक लेखेका छन् ।

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  ०९:०८
Weather Update