News Griha :: न्यूजगृह
लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीले हस्ताक्षर गरेको १९ बुँदे साझा प्रतिबद्धता पत्रमा के छ?

काठमाडौं— लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दुई प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धता गरेका छन्।

दुई प्रदेशको समृद्धि र विकासका साझा सरोकारको विषयलाइ सम्बोधन गर्नेगरी दुवै मुख्यमन्त्रीले साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन्।

दुवै प्रदेशको आगामी वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा समावेश गर्नेगरी साझा प्रतिबद्धता गरिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बताए।

प्रदेशबाट तर्जुमा हुने र भएका कानुनको सम्बन्धमा पारस्परिक सहयोग, समन्वय र सहकार्य गरी एकरुपता कायम गर्ने, प्रदेश कानुन बमोजिम लगाइने करका सम्बन्धमा दुवै प्रदेशबीच एकरुपता कायम गर्ने र प्राकृतिक स्रोत साधनबाट संकलन हुने रोयल्टी बाँडफाँटको विषयमा सामञ्जस्यता कायम गर्ने, राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना शीघ्र सम्पन्न गर्न दुवै प्रदेश सरकारको तर्फबाट नेपाल सरकारसमक्ष समन्वय गर्ने र स्थानीय स्तरका आयोजनासम्बद्ध सवालहरुमा स्थानीय तह समेतको समन्वयमा विवाद समाधानका लागि आवश्यक पहल गर्ने साझा प्रतिवद्धतामा उल्लेख छ।

त्यस्तै लुम्बिनी प्रदेशका विमानस्थलबाट कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई उडान गर्न आवश्यक पहल गर्ने, भैरहवा–सुर्खेत हवाई सेवा सञ्चालन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने, कोहलपुर-सुर्खेत १३२ के.भी.ए. प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने र अन्तर प्रदेश आवद्ध भएका सडक पूर्वाधार निर्माणका लागि आवश्यकता अनुसार नेपाल सरकारसँग समन्वय गरी साझेदारी र सहकार्य गर्ने प्रतिबद्धता गरेका छन्। 

अन्तरप्रदेश आवद्ध भएका सडकहरुमा जमुनाह–हिल्सा सडक, सुर्खेत–तेलपानी–भुरीगाउँ सडक, राप्ती लोकमार्ग, कोहलपुर-सुर्खेत सडक र कोहलपुर–बबई तथा बबई छिन्चु सुरुङमार्ग सम्भाव्यता अध्ययन रहेका छन्। त्यसैगरी दुवै प्रदेशको बृहत्तर हित गर्ने सहलगानीमा सञ्चालन हुन सक्ने सम्भावित ठूला आयोजनाको पहिचान गर्ने, विपद् व्यवस्थापनका लागि साझेदारी, सहकार्य र समन्वय गर्ने, लागू औषध ओसारपसारको नियन्त्रण र रोकथामका लागि सुरक्षा निकायसँग समन्वय गर्ने, लुम्बिनी प्रदेशमा आउने धार्मिक पर्यटकहरुलाई कर्णालीको साहसिक पर्यटकीय गन्तव्यसम्म जोड्नेगरी एकीकृत पर्यटन मार्ग निर्माण गर्न गुरुयोजना तयारी र लगानीमा सहकार्य गर्ने, दुबै प्रदेशका पर्यटकीय क्षेत्रलाई जोडेर संयुक्त पर्यटन प्याकेज निर्माणको लागि निजि क्षेत्रसंग समन्वय र सहकार्य गर्ने तथा दुबै प्रदेशको सीमानामा रहेका नदीनालाहरुमा जलविद्युत उत्पादन प्रसारण लाइन विस्तार तथा सिंचाइ संरचना निर्माण गर्दा समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ।

त्यस्तै प्रदेशका सीमा क्षेत्र नजिकका सडक, पुल जस्ता पूर्वाधारको निर्माणमा सहलगानी तथा साझेदारी गर्ने, बर्दियाको बाँसगढी १ र सुर्खेतको भेरीगंगा साँध सिमानाको विवाद प्रचलित कानून र प्रमाणका आधारमा समाधान गर्न नेपाल सरकार समक्ष अनुरोध गर्ने, दुबै प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीको भाडादर संयुक्त रुपमा निर्धारण गर्ने र दुर्घटना न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन गर्ने, कर्णालीमा उत्पादन हुने फलफूल, जडीबुटी र तरकारी बिक्रिका लागि  लुम्बिनी प्रदेशका मुख्य बजारसम्मको पहुँच पुर्‍याउने, दुवै प्रदेशको विकास, समृद्धि र सुशासन प्रबर्द्धनका लागि सूचना प्रविधिको माध्यमवाट सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक सहयोग, समन्वय र सहकार्य गर्ने तथा दुवै प्रदेशको साझा सहकार्य, समन्वय र साझेदारीलाई प्रवद्र्धन गर्न समन्वयात्मक बैठकलाई निरन्तरता दिन दुबै प्रदेशका मुख्यमन्त्रीले प्रतिबद्धता जनाएका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १६:२७
Weather Update