News Griha :: न्यूजगृह
पाकिस्तानी विदेशमन्त्री जर्दारी भारतमा, नौवर्ष पछिको उच्चस्तरीय भ्रमण

नयाँदिल्ली— सन् २०१४ पछि भारतमा पहिलोपटक पाकिस्तानबाट उच्चस्तरीय भ्रमण भएको छ ।

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारी बिहीबार भारत भ्रमणमा पुगेका हुन् । 

साङ्घाइ सहयोग संगठन (एससीओ)को विदेश मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन पाकिस्तानी विदेशमन्त्री जर्दारी भारत पुगेका हुन् । सो सम्मेलन बिहीबारदेखि गोवामा जारी छ । 

नौ वर्षपछि भारतमा पाकिस्तानको तर्फबाट यो उच्च स्तरीय राजनीतिक भ्रमण भएको हो । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ दिल्ली पुगेपछि बिहीबार विदेशमन्त्री जर्दारी भारतको भूमि टेकेका हुन् । 

सन् २०१९ मा पुलवामा भएको हमलामा ४० भारतीय सुरक्षाकर्मीको मृत्यु र त्यसको जवाफमा भारतको तर्फबाट पाकिस्तानमा गरेको सर्जिकल स्ट्राइकले दक्षिण एसियाली दुई देशबीच तनावपूर्ण बन्न पुगेको थियो । त्यसमाथि भारतले जम्मु–कश्मीरका लागि धारा ३७० हटाएपछि पाकिस्तानले त्यसको कडा विरोध गर्दै आएपछि तिक्तता झनै बढ्न गएको थियो ।

नौ वर्षपछि पाकिस्तानी विदेशमन्त्री जर्दारीको भारत भ्रमणलाई विश्वजगत्ले विशेष र अर्थपूर्ण रूपमा औँल्याएको छ । पाकिस्तानी विदेशमन्त्रीको भारत भ्रमणले दुवै देशबीचको तिक्तता कम गराउनका लागि नयाँ पहलकदमी हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

पाकिस्तानले पनि बहुपक्षीय बैठकमा सहभागी भएर आफ्नो धारणा राख्नका लागि विदेशमन्त्री जर्दारीको भारत भ्रमण कोशेढुंगा साबित हुने जनाएको छ । विदेशमन्त्री जर्दारीले ट्वीटमार्फत आफ्नो उपस्थितिले एससीओप्रति पाकिस्तानको बलियो प्रतिबद्धता दर्शाएको जनाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १०:३९
Weather Update