News Griha :: न्यूजगृह
दुई महिने शिशुको शंकास्पद मृत्यु, अनुसन्धान गरिने

बैतडी—​ बैतडीमा एक शिशुको शंकास्पद मृत्यु भएको छ। जिल्लाको डिलासैनी गाउँपालिका वडा नं २ छेपट्टाका मुकेश रानाका दुई महिने छोरा आदर्शको शंकास्पद मृत्यु भएको हो। 

बुधबार दिउँसो १२ बजेको समयमा डिलासैनी–३ स्थित सिमार वर्थिङ सेन्टरमा खोप लगाएका आदर्श बिरामी भएपछि उपचारको लागि डडेलधुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको आफन्त ध्रुव रानाले बताए।

नियमित खोप कार्यक्रमअन्तरगत आदर्शलाई सिमार वर्थिङ सेन्टरमा डीपीटी दोस्रो डोज र पीसीभीको पहिलो डोज लगाइएको थियो। त्यसैगरी ओपीभी र रोटा डोज खुवाइएको थियो।

त्यसपछि दिउँसो ३ बजेदेखि ज्वरो आएको र राती र्याल काढ्न थालेपछि उपचारका लागि गोकुलेश्वर लगिएको थियो। त्यहाँ उपचार नभएपछि डडेलधुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको मृतकका आफन्तले बताएका छन्।

खोपका कारणले बालकको मृत्यु भएको भन्दै स्थानीयले स्वास्थ्य कार्यालय बैतडीमा पनि जानकारी गराएका छन्। आदर्शको शंकास्पद मृत्यु भएपछि स्थानीयहरू आन्दोलनमा उत्रिएका थिए। 

घटनाको विषयमा अनुसन्धान गरिने र पालिकाको तर्फबाट उचित क्षतिपूर्ति दिने विषयमा सहमति भएपछि आन्दोलन स्थगित भएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  ०६:०६
Weather Update