News Griha :: न्यूजगृह
भैरहवालाई सुरक्षित बनाउन ‘एएनपीआर’ जडान

रुपन्देही— सिमावर्ती सहर भैरहवालाई सुरक्षित बनाउन अत्याधुनिक विद्युतीय प्रणाली जडान गरिएको छ । रुपन्देहीको सदरमुकासमेत रहेको भैरहवालाई व्यवस्थित र सुरक्षित बनाउन सिद्धार्थनगर नगरपालिकाले ‘अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेशन सिस्टम’ (एएनपीआर) जडान गरेको हो । 

यहाँ हुने सवारी दुर्घटना र अन्य अपराधमा संलग्न व्यक्तिको पहिचान गर्न एएनपीआर जडान गरिएको नगरपालिकाले जनाएको छ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँले अत्याधुनिक प्रविधिले भैरहवाको ट्राफिक व्यवस्थापनसँगै सुरक्षा निकायलाई अपराध नियन्त्रणमासमेत सहयोग पुग्ने बताए। उनले देवकोटा चोक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि र वेलहिया वाईपासमा एनएनपीआर जडान गरिएको जानकारी दिए । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले यो प्रणालीले अँध्यारोमासमेत सवारीको नम्बर प्लेट, रङको पहिचान गर्नुका साथै खोजी सूचीमा रहेका व्यक्तिले मास्क जस्ता पहिरन  लगाउँदा पनि पहिचान गर्न सकिने बताए। उनका अनुसार यसबाहेक नगरपालिकाले भैरहवाका अन्य १८ स्थानमा सीसीटीभी क्यामेरा जडान गरेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १८:४३
Weather Update