काठमाडौं— सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीको बयान सकिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा सोमबार र मङ्गलबार उनको बयान गराइएको हो।
न्यायाधीश राईले अभियोजन पत्रमा भएका विषयसँग सम्बन्धित प्रश्नहरू नै गरेका जोशीका वकिल जगन्नाथ ढकालको भनाइ छ। उनका अनुसार न्यायाधीशबाट दुई दिन गरी जम्मा २३ वटा प्रश्न सोधिएका थिए भने जोशीले सबै प्रश्नको जवाफ दिएका छन्।
‘मूल आरोपसँग जोडिएका क्रस क्वेसन गर्नुभएको छ। उहाँले सबै प्रश्नको उत्तर दिनुभयो। श्रीमानसमक्ष आफूमाथि लगाइएका आरोपहरू झुटो भएको बताउनुभयो,’ उनले भने।
जोशीमाथि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत सूर्यदर्शन सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ। जोशीको बयान सकिएपछि मंगलबार नै अर्का प्रतिवादी लिला पछाइसँग बयान लिने काम भएको अदालतले जनाएको छ। लीलाले गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) सँग मिलेर सहकारीको रकम हिनामिना गरेको, सोही रकम विदेश पठाएको अभियोग छ।
लीलाको बयान सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको बयान लिने तयारीमा अदालत छ। बुधवार सार्वजनिक बिदा परेकाले अदालत बन्द हुने र विहीबारबाट मात्रै रविको बयान लिइने पनि अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।
लामिछाने, जोशी, नेचर हर्ब्सका रामबहादुर खनाल, लीला पछाइ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङविरुद्ध आइतबारमात्रै मुद्दा दायर गरिएको र सोमबारदेखि अदालतले बयान लिन थालिएको थियो। उनीहरूसँग बयान लिएपछि थुनछेकको बहस हुनेछ। बहस सकिएपछि अदालतले पुर्पक्षका लागि थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा आदेश गर्नेछ।
बयानका लागि मङ्गलबार छवि, लीलासहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने, जीवीका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएको थियो। तीमध्ये बिरामी रहेका सञ्चालक कृष्ण गुरुङलाई भने अदालत लगिएको थिएन।
जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार जीबीसहित १९ जनाविरुद्ध थप अभियोजन दर्ता गराएको थियो भने आइतबार ८ कम्पनी, ३१ जना व्यक्ति, ८ संस्था र ५ जनाको सम्पत्ति जफतको माग सहित अभियोजन दर्ता गरिएको थियो।
सूर्यदर्शन सहकारी ठगीमा संस्था र व्यक्ति गरेर ६३ जनाविरुद्ध अभियोजन दर्ता भएको छ। उनीहरूबाट करिब १ अर्ब ५१ करोड रुपैयाँ बिगो मागदावी गरिएको छ।