काठमाडौं— सूर्यदर्शन सहकारी ठगी काण्डमा पूर्वउपाध्यक्ष मीना गुरुङ पक्राउ परेकी छन्। उनलाई मंगलबार कास्की प्रहरीले घरबाटै पक्राउ गरेको हो। कास्की प्रहरीले गरेको अनुसन्धानपछि गएको शुक्रबार र आइतबार गरी जिल्ला अदालत कास्कीमा पेश गरिएीको अभियोजनपत्रमा मीनालाई पनि फरारको सूचीमा राखेर अभियोजन दर्ता गरिएको थियो।
उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र अदालत खुल्नासाथ अदालत पेश गरिने कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए। सूर्यदर्शन सहकारी ठगीमा संस्था र व्यक्ति गरेर ६३ जनाविरुद्ध अभियोजन दर्ता भएको छ।
मीना पूर्वप्रदेशसभा सांसद पनि हुन्। अघिल्लो गण्डकी प्रदेशसभामा मीना एमालेको तर्फबाट समानुपातिक सांसद बनेकी थिइन्। नेटवर्किङ धन्दा चलाउने क्रममा पोखरा आएका गितेन्द्रबाबु राईकै योजनामा २०६६ सालतिर पोखरामा सूर्यदर्शन सहकारी खोल्ने योजना बनेको थियो। पोखराका चर्चित र पैसावाल मान्छेलाई सहकारीमा ल्याउने उनको योजना अनुसार नै मीनालाई पहिलो संचालक समितिको उपाध्यक्ष बनाइएको थियो।
सो समितिमा ज्ञानबहादुर बम्जन अध्यक्ष थिए। सूर्यध्वज न्यौपाने सचिव र आरती गुरुङ कोषाध्यक्ष बनाइएको थियो। २०६८ सालमा नयाँ कार्यसमिति बन्दा भने जीबी नै सहकारीको अध्यक्ष बने। मीनाले सहकारी छाडिन्। कोषाध्यक्षमा आरती दोहोरिइन्। मीनाको ठाउँमा देवकुमार नेपालीलाई उपाध्यक्ष बनाइयो। सचिवमा सुरेशचन्द्र पहारी ल्याइयो।