News Griha :: न्यूजगृह
आज दिनभर देशमा के–के भयो ?

काठमाडौं— वाइडबडी घोटाला प्रकरणमा नेपालीलाई घुस खुवाउने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर जरिवाना गरेको र पाँच महिनामा ४ अर्ब ९६ करोड रुपैयाँबराबरको गलैँचा निर्यात भएको खबरसम्म आज चर्चामा रहे। 

चालु आर्थिक वर्षको पाँच महिनामा ४ अर्ब ९६ करोड ३३ लाख रुपैयाँबराबरको गलैंचा निर्यात भएको छ । भन्सार विभागका अनुसार २ लाख ४६ हजार ४०४ स्क्वायर मिटर गलैंचा ५९ वटा मुलुकमा निर्यात भएको हो । यस्तै भारतमा २५ करोड, बेलायतमा २२ करोड इटालीमा २२ करोड, फ्रान्समा १४ करोड, अस्ट्रेलियामा १३ करोड र बेलजियममा १२ करोड रुपैयाँको गलैँचा निर्यात भएको छ ।

नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले केही नेपाल ऐन संशोधन विधेयकको दफा ६४ फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा कानुनमन्त्री अजयकुमार चौरसियाले विधेयकको दफा ६४ फिर्ता लिएको जानकारी दिएका थिए ।

पुनःनिर्माण पश्चात धरहरा सशुल्क सञ्चालन भएको आज एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कबापत् रु ५५ लाख सङ्कलन भएको छ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन भएको हो ।

नेपालका अलराउन्डर कुशल मल्लले यूएईमा हुने इन्टरनेसनल लिग टी२० खेल्ने भएका छन् । मल्ललाई डेजर्ट भाइपर्सले अनुबन्धित गरेको हो । डच अलराउन्डर बास डे लिड घाइते भएपछि डेजर्ट भाइपर्सले मल्ललाई अनुबन्धित गरेको हो । भाइपर्सका निर्देशक टम मूडीले कुशल मल्ललाई टिममा लिइएको जानकारी दिँदै भनेका छन्, 'उनी युवा खेलाडी हुन् । युवा खेलाडी भए पनि माथिल्लो स्तरमा उनले उल्लेख्य अनुभव बटुलिसकेका छन् ।'

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यका सहित सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भूभागमा वर्षा भएको छ। काठमाडौंमा अहिले सिमसिम पानी परिरहेको छ । काठमाडौं उपत्यकामा मङ्गलबार पहिलो हिउँदे वर्षा भएको हो। 

पानी परेसँगै चिसो बढेको छ । यो प्रणालीको प्रभाव सबैभन्दा बढी पश्चिम नेपालका भूभागमा परेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शितलबजार र मलेखुको बीच क्षेत्रमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग एकतर्फी खुलेको छ ।

नेपालगञ्जमा मंगलबार शीतलहर सुरु भएपछि चिसो बढेको छ। शीतलहर चल्न थालेपछि बढेको चिसोले दैनिक जीवनयापन प्रभावित भएको छ। 

आकर्षक जागिरको प्रलोभन देखाएर म्यानमार पुर्‍याइएका पाँच जना नेपालीको उद्धार भएको छ । ती नेपालीलाई थाइल्याण्ड हुँदै नेपाल फर्काइएको छ । एक महिलालाई आज र चार पुरुषलाई १७ डिसेम्बरमा नेपाल फर्काइएको नेपाली राजदूतावास, बैंककले जनाएको छ ।

वाइडबडी विमान घोटाला प्रकरणमा नेपाली पक्षलाई घुस खुवाउने अमेरिकी कम्पनीलाई ५५ मिलियन डलर (सात अर्ब ४९ करोड २६ लाख रुपैयाँभन्दा बढी) जरिवाना गरिएको छ ।

अमेरिकी सरकारको सार्वजनिक मामिला कार्यालयले एक विज्ञप्ति जारी गर्दै एएआर कर्पलाई ५५ मिलियन डलर जरिवाना गरिएको जनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २०:१४
Weather Update