-1735046846.jpg)
काठमाडौं— पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यका सहित सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भूभागमा वर्षा भएको छ। काठमाडौंमा अहिले सिमसिम पानी परिरहेको छ । काठमाडौं उपत्यकामा मङ्गलबार पहिलो हिउँदे वर्षा भएको हो।
पानी परेसँगै चिसो बढेको छ । यो प्रणालीको प्रभाव सबैभन्दा बढी पश्चिम नेपालका भूभागमा परेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भएको छ ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार पछिल्लो चौबीस घण्टामा डडेलधुराको साहुखर्कमा १६.४, डडेलधुरामै ९ मिलिमिटर वर्षा भएको छ। दिपायलमा ५.६, मिलिमिटर वर्षा भएको छ।
पछिल्लो तीन घण्टामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशमा बदली भए पनि उल्लेख्य वर्षा नभएको उनले बताए।
पछिल्लो तीन घण्टामा चितवनको झुवानीमा ३.२ मिलिमिटर वर्षा भएको अर्यालले बताए।
सुदूरपश्चिम, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्ला हिमपातको सम्भावना रहेको छ। बाँकी स्थानमा पनि चिसो बढेको उनले बताए।
जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टामा सुदूरपश्चिम कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू तथा बागमती प्रदेश र मधेस प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको थियो।
त्यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरू साथै बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको प्रक्षेपण गरेको थियो।
साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन भनेको थियो।