News Griha :: न्यूजगृह
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेस सर्लाही सभापतिलाई बर्खास्त गर्न केन्द्रीय कार्यालयमा ज्ञापन पत्र

काठमाडौं— नेपाली कांग्रेसका सर्लाही सभापति सुरेन्द्रप्रसाद सिंहलाई बर्खास्त गर्न माग गर्दै सर्लाहीका नेता, कार्यकर्ताहरूले केन्द्रीय कार्यालय सानेपामा ज्ञापन पत्र बुझाएका छन्।  सभापति सिंहविरूद्ध २०८० फागुन १५ गते सर्वोच्च अदालतबाट भ्रष्टाचार ठहर भई आदेश भएको भन्दै बर्खास्त गर्न माग भएको हो।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ र कांग्रेसको विधानअनुसार पनि फौजदारी कसुरमा अदालतबाट दोषी भएका व्यक्ति पार्टीको साधारण सदस्य पनि नरहने भएकोले जिल्ला सभापतिबाट बर्खास्त गर्न माग भएको हो। कांग्रेस जिल्ला उपसभापति नवीनप्रसाद अधिकारी, क्षेत्र नम्बर १ का सभापति हरिबहादुर लुंगेलीलगायतले सभापति सिंहविरूद्ध केन्द्रीय कार्यालयमा ज्ञापन पत्र दर्ता गराएका हुन्।

‘सुरेन्द्रप्रसाद सिंहलाई सभापति पदबाट बर्खास्त गरी कांग्रेसको विधानअनुसार नयाँ सभापति चयन गरियोस्,’ मंगलबार केन्द्रीय कार्यालय सानेपामा बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ। सिंहलाई सभापतिबाट बर्खास्त नगरे केन्द्रीय कार्यालयमा धर्ना दिने र रिले अनसन बस्नेजस्ता दबाबमुलक कार्यक्रम गर्ने पनि उनीहरूले ज्ञापन पत्रमा चेतावनी दिएका छन्।
 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १५:३३
Weather Update