News Griha :: न्यूजगृह
रास्वपाको कार्यवाहक सभापति अर्याल वा वाग्ले?, विधानमा यस्तो छ व्यवस्था

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरिएको छ । प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीले मुद्दा दायर गरेको हो ।

योसँगै लामिछानेको सांसद पद निलम्बन भएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा २७ अनुसार उनको सांसद पद स्वतः निलम्बन भएको हो । पार्टी संसदीय दलका नेता समेत रहेका लामिछानेको सांसद पद निलम्बनमा परेसँगै अब रास्वपाको कार्यवाहक सभापति को बन्छन्/बन्दैनन् भन्ने आमचासो छ ।

रास्वपाको विधानानुसार सभापतिको अनुपस्थितिमा उपसभापति कार्यवाहक सभापति हुन्छन् । रास्वपामा डोलप्रसाद (डीपी) अर्याल र स्वर्णिम वाग्ले दुई उपसभापति छन् ।

रास्वपा विधानको धारा २४ को उपधारा ३(२) मा पार्टी उपसभापतिको काम, कर्तव्य र अधिकारबारे लेखिएको छ । विधानको व्यवस्थाअनुसार दुई उपसभापतिमध्ये पार्टी सभापतिले तोकेको वा उमेरले ज्येष्ठ व्यक्ति कार्यवाहक सभापति हुन्छन् ।

नागरिकता विवरणानुसार, डीपी अर्याल २०३१ साल ६ भदौ गते जन्मिएका हुन् । स्वर्णिम वाग्ले ०३१ जेठ १६ गते जन्मिएका हुन् ।


 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १५:५९
Weather Update