News Griha :: न्यूजगृह
रूस-युक्रेन युद्धमा उत्तर कोरियाका ११०० सैनिक मारिएको दाबी

काठमाडौं— दक्षिण कोरियाले रूस-युक्रेन युद्धमा उत्तर कोरियाका हजार भन्दा बढी सैनिकको ज्यान गएको दाबी गरेको छ । दक्षिण कोरियाली अधिकारीका अनुसार युद्धमा ज्यान गुमाउने उत्तर कोरियाली सैनिकको संख्या कम्तीमा ११ सय छ ।

दक्षिण कोरियाली गुप्तचर निकायले डिसेम्बरमा युद्धमा प्रवेश गरेयता कम्तीमा एक सय उत्तर कोरियाली सैनिक मारिएको रिपोर्ट गत साता सांसदहरूलाई बुझाएको थियो । त्यसयता थप एक हजार उत्तर कोरियाली सैनिकले ज्यान गुमाएको बताइएको छ ।

'सूचना र गुप्तचरका विभिन्न स्रोतहरूमार्फत हामीले हालै युक्रेनी सेनासँगको लडाइँमा संलग्न करिब एक हजार एक सय उत्तर कोरियाली सैनिक मारिएको आँकलन गरेका छौँ,' दक्षिण कोरियाली सेना प्रमुखले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दक्षिण कोरियाले रूसलाई सहयोग गर्न थप उत्तर कोरियाली सैनिक तैनाथ गरिने सम्भावना रहेको जनाएको छ ।प्योङयाङले पूराना सैनिकलाई फिर्ता बोलाएर वा थप सैनिक तैनाथ’ गर्ने तयारी गरिरहेको बताइएको छ । युक्रेनविरुद्धको लडाईमा रुसलाई थप सहयोग गर्न उत्तर कोरियाले 'आत्म-विनाशकारी ड्रोनहरूको उत्पादन गर्न र उपलब्ध गराउन लागेको' दक्षिण कोरियाली गुप्तचर निकायको दाबी छ ।

उत्तरले रूसी सेनाका लागि २४० एमएम रकेट लन्चर र १७० एमएम सेल्फ-प्रोपेल्ड आर्टिलरी दिँदै अएको छ । उत्तर कोरियाले रूस-युक्रेन युद्धमा लडाई अनुभवको आधारमा आफ्नो परम्परागत युद्ध क्षमतालाई आधुनिकीकरण गर्ने लक्ष्य राखेको र त्यसले आफूहरूमाथि सैन्य खतरा बढाउन सक्ने दक्षिणको दाबी छ ।

उत्तर कोरियाले युक्रेन युद्धमा रूसी सेनालाई सहयोग गर्न हजारौँ सैनिक पठाएको छ । तीमध्ये अधिकांश सैनिक युक्रेनी सेनाले यसै वर्षको सुरुमा कब्जा गरेको कुर्कस् क्षेत्रमा खटिएको विश्वास गरिएको छ ।

रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि उत्तर कोरिया र रूसबीच सैन्य सम्बन्ध बलियो बनेको छ । प्योङयाङ र मस्कोबीच गत जुनमा हस्ताक्षर भएको ऐतिहासिक रक्षा सम्झौता यही डिसेम्बरदेखि लागू भएको छ । विज्ञहरुका अनुसार उत्तर कोरियाली नेता किम जोङ-उन रुसबाट अत्याधुनिक प्रविधि र आफ्ना सैनिकका लागि युद्धको अनुभव हासिल गर्न इच्छुक छन् ।

यसअघि अमेरिका र उसका सहयोगीहरूले युक्रेनसँगको युद्धमा उत्तर कोरियाले रुसलाई गरेको समर्थनको आलोचना गर्दै वक्तव्य जारी गरेका थिए । प्योङयाङले उक्त वक्तव्यलाई ‘लापरबाहीपूर्ण उक्साहट’ भनको संज्ञा दिँदै आलोचना गरेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १४:५१
Weather Update