
काठमाडौं— नेपाल शिक्षक संघले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारीको पीडा सरकारले सम्बोधन गर्न नसकेको बताएको छ ।
नवौँ महाधिवेशन र संघीय कार्यसमितिको पहिलो बैठकका निर्णय पत्रकार भेटमार्फत बिहीबार सार्वजनिक गर्दै उनीहरूको पीडाको खास सम्बोधन हुन नसकेको बताएको हो ।
‘बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको हकमा अघिल्लो आ.व.बाट केही मात्रामा भए पनि तलब वृद्धि गराउन हामी सफल भएका थियौँ । तर यसबाट उनीहरूको पीडाको खास सम्बोधन हुन सकेको छैन । त्यसैले सबै कर्मचारी र बालकक्षाका शिक्षकको दरबन्दीलाई स्वीकृत दरबन्दीमा परिणत गरी दरबन्दीअनुसार तलबभत्ता खुवाउनुपर्छ,’संघले भन्यो ।
संघले उनीहरूका लागि महंगी भत्ताकोसमेत व्यवस्था हुनुपर्ने बताउँदै नेपाल शिक्षक महासंघसँग भएको सम्झौताबमोजिम शिक्षक सेवा आयोगमार्फत स्थायित्वको प्रक्रियामा लैजानु पर्ने बताएको छ ।













