काठमाडौं — कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेका रवि लामिछानेविरूद्ध अरू ४ जिल्लामा पनि मुद्दा चलाउने तयारी गरिएको छ।
पोखरामा जस्तै चितवन, रुपन्देही, काठमाडौं र पर्सामा पनि सहकारीको बचत रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर हिनामिना गरेको भन्दै सहकारी पीडितले दिएको जाहेरीका आधारमा मुद्दा चलाउने तयारी गरेका हुन्।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्लेका अनुसार जहाँ-जहाँ अपराध भएका छन्, ती सबै ठाउँमा मुद्दा चल्ने बताइन्।
‘कास्कीमा सूर्यदर्शन सहकारीका विषयमा हामीले आज मुद्दा दायर गर्यौं, अरू जिल्लामा भएका ठगीका विषयमा त्यही जिल्लाबाट मुद्दा चल्छ,’ उनले भनिन्, ‘त्यही भएर ती जिल्लाहरूमा पनि बयान भएका छन् नि।’
कास्कीमा सम्पत्ति शुद्धीकरण मुद्दा र गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट गएको कुल रकम जोडेर मुद्दा चलाएको उनले बताइन्।
‘हामीले गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट अवैध रूपमा लगेको रकम जोडेका छौं,’ उनले भनिन्, ‘सम्पत्ति शुद्धीकरणमा पनि उनीहरूले गरेका गैरकानुनी आम्दानी र कारोबारका विवरण राखेका छौं।’
अरू जिल्लामा मुद्दा लगाउँदा कुन कुन कसुरमा लाग्ने भन्ने कुरा सोही जिल्लामा भएका कसुर हेरेर सम्बन्धित जिल्लाको सरकारी वकिलको कार्यालयले निर्णय गर्ने उनले बताइन्।
छानबिन प्रतिवेदनका अनुसार जीबी राई र रवि लामिछानेका नाममा २०७८ पुस १ मा ‘इको सेभेन सिटर भ्यान’ किन्न भन्दै ४६ लाख ८८ हजार लगेको खुलेको छ। भ्यान किन्न भनेर लगेको कर्जामध्ये २९ लाख ५२ हजार ४ सय ३६ रुपैयाँ तिर्न बाँकी देखिएको छ।
२०७८ साउन ४ मा पनि सोही सहकारीबाट गोर्खा मिडिया अध्यक्ष राई र प्रबन्ध निर्देशक लामिछानेले ‘फोर ह्विलर’ गाडी किन्न ४६ लाख ९८ हजार कर्जा लगेको देखिएको छ। गाडी किन्दा लिएको ऋणमध्ये ३२ लाख २१ हजार ६ सय ३३ रुपैयाँ ५१ पैसा तिर्न बाँकी देखिन्छ।
यस्तै, चितवनको साहरा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको छानबिन प्रतिवेदनमा उल्लेख छ।
वीरगञ्जको सानो पाइला सहकारीबाट ८ करोड भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय छानबिन प्रतिवेदनमा उल्लेख छ।
पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, वीरगञ्जको सानो पाइला लगायत सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ६५ करोडभन्दा बढी रकम प्रवाह भएको देखिएको छ।
पोखराको सुर्यदर्शन सहकारीमा सर्वसाधारणले राखेको रकम अपचलन गरेको आरोपमा लामिछानेविरूद्ध आइतबार जिल्ला अदालतमा मुद्दा दायर भएको छ। उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार कारबाही गर्न माग गरिएको जिल्ला न्यायाधिवक्ता काफ्ले जानकारी दिइन्।
उनका अनुसार लामिछानेसँग सहकारीतर्फ ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो माग गरिएको छ भने सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भन्दै जफत गर्न माग गरिएको छ।