काठमाडौं— सरकारले यातायात व्यवस्था विभागलाई सवारीसाधन बिक्रीको नियमनकारी निकाय तोकेको छ। यसैगरी राष्ट्रबैंकलाई सामाजिक सुरक्षाकोष सम्बद्ध कर्जा प्रवाह र नेपाल धितोपत्र बोर्डलाई इन्भेष्टमेन्ट कम्पनीको सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि नियमनकारी निकाय तोक्ने निर्णय गरिएको छ।
२०८१ पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका हुन्। नेपाल हवाई सेवा प्राधिकरण स्थापना तथा व्यवस्थापनका लागि विधेयक २०८१ संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ। साथै नागरिक उड्डयनसम्बन्धी कानून संशोधन र एकीकरण विधेयक पनि संसद्मा पेश गरिनेछ।
जग्गा स्वीकृति
दैलेख, कालिकोट र जुम्लाका १३२ के.भी. प्रसारण लाइन टावर बनाउन १२ हेक्टर जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गरिएको छ। साथै संखुवासभाको खाँदबारी नगरपालिका, दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका र ललितपुर जिल्लामा विभिन्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिइएको छ।
स्वास्थ्य क्षेत्रमा सुधार
पोखरिया अस्पताललाई ५० शय्याको अस्पतालमा स्तरोन्नति गरी मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्न स्वीकृति प्रदान गरिएको छ। साथै कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा श्रीराम सुवेदीलाई मनोनयन गरिएको छ।
जलविद्युत् र अन्य पूर्वाधार परियोजनामा जग्गा प्राप्ति
अरुण तेस्रो जलविद्युत् परियोजनाका लागि ४०० केभी प्रसारण लाइन बनाउन २१३.६७ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिइएको छ।
स्थानीय तहलाई सहयोग
कलैया उपमहानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, चारपाक सुलिकोट गाउँपालिका, पुनर्वास नगरपालिका र एकडारा गाउँपालिकालाई विभिन्न प्रयोजनका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिइएको छ।
धितोपत्र र साना व्यवसायका लागि नीति निर्माण
साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावलीलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ।
चिकित्सा शिक्षा आयोगको छैटौं वार्षिक प्रतिवेदन संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेश गर्न स्वीकृति दिइएको छ।