News Griha :: न्यूजगृह
जनकपुर बोल्ट्स समर्थकमाथि दुर्व्यवहार गरेकोमा सर्वत्र विरोध, कारबाही माग

काठमाडौं— नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंको कीर्तिपुरमा नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको ३२ खेल भए।

८ टोलीबीच प्रतिस्पर्धा भएको एनपीएलको फाइनल शनिबार भएको थियो। सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुम्यो।

रोमान्चक एनपीएलका खेल दौरान फाइनलउन्मुख आइपुग्दा भने केही असहज परिस्थिति देखा पर्‍यो। मधेसी समुदायप्रति लक्ष्य गर्दै विभेदकारी र अपमानजनक शब्द अराजक समूहले व्यक्त गरे।

गत पुस ४ गते जनकपुर बोल्ट्स र कर्णाली याक्सको खेल थियो। खेल जनकपुर बोल्ट्सले जितेसँगै उदण्ड र अराजक समूहले जनकपुर बोल्ट्स समर्थक लक्ष्य गर्दै नारा लगाए।

जनकपुर बोल्ट्सप्रति लक्ष्य गर्दै अभद्र र अपमानित हुने खालका नारा शनिबारको फाइनलपछि पनि लाग्यो। अराजक समूहले जनकपुर बोल्ट्स समर्थकप्रति देखाएको नश्लीय, साम्प्रदायिक र रंगीयताका व्यवहारको सर्वत्र विरोध भइरहेको छ।

मधेसी आयोगले एनपीएलअन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सको खेलमा जनकपुर बोल्ट्सप्रति लक्ष्य गर्दै अभद्र र अपमानित हुने खालका नाराजुलुस लगाउनेहरूमाथि कारबाही गर्न गृह प्रशासनलाई सिफारिस नै गरेको छ। यस्ता नारा लगाउनेहरूको अनुहार नै देखिने गरी भिडिओहरू आइरहे पनि सुरक्षा निकायले त्यसप्रति चासो देखाएर कारबाही नगरेकोमा आयोग असन्तुष्ट देखिन्छ।

‘विभिन्न प्रकारका सञ्चारमाध्यमबाट प्रष्टिएकाहरू माथि राज्यका जिम्मेवारीमा बसेका सुरक्षा निकायले कुनै पनि कारबाही नगर्नु अशोभनिय रहेको र जिम्मेवारी बोध नभएको देखिन्छ,’ आयोगले पुस ५ गते निकालेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि देशको संविधान, ऐन, कानूनले त्यो मुलुकको सभ्यता-संस्कृति-प्रथा-परम्परा-सोच-व्यवहार र सामाजिक रितिरिवाज समेतलाई प्रतिबिम्बित गरेको हुन्छ। अहिले एउटा सम्प्रदायमा देखिएका मधेसी समुदायप्रतिको विभेदकारी र नश्लीय सोचले मुलुक निर्माणमा अवश्य नै समस्या उत्पन्न गर्नेछ।’

एनपीएलमा जनकपुर बोल्ट्सका खेलाडीहरूका अगाडी नै अभद्र र अपमानित हुने खालका नाराजुलुस लगाइएको भेटिएको भन्दै आयोगले आपत्ति पनि जनाएको छ। ‘जनकपुर बोल्ट्सका खेलाडीका अगाडी नै अभद्र र अपमानित नाराजुलुस लाग्नु निन्दनीय र कानुन विपरितका दण्डनीय कार्य हो,’ आयोगले भनेको छ।

तत्कालै राज्यले ती उदण्डी र अभद्री अपराधिलाई तुरून्त कानूनी रुपमा दण्डित गर्ने कार्य गर्न र संवेदनशील हुन आयोग अपिल गरेको विज्ञप्तिमा उल्लेख छ। संविधान, ऐन, कानूनले विभेद, गलत रितिरिवाज, छुवाछूतविरूद्ध कानुनी रूपमा दण्ड सजायको गरेको भए पनि कानुनी व्यवस्थाको बावजुद विभेदकारी सोच र व्यवहार व्यवहारिक रूपमा विद्यमान रहेको देखिएको आयोगको भनाइ छ।

‘सोको लागि आयोगले गृह प्रशासनमा सिफारिस समेत गरिसकेको छ, साथै संयमित हुन समेत आग्रह गर्दछ,’ आयोगले भनेको छ। शनिबार फाइनल खेलपछि पनि मधेसी समुदायलक्ष्य गर्दै विभेदकारी नारा लागेकोमा विरोध भइरहेको छ।

सीके राउत नेतृत्वको जनमत पार्टीले जनकपुर बोल्ट्सका समर्थकमाथि आक्रमण र अपमान गर्नेहरूलाई कारबाही गर्न माग गरेको छ।

शनिबार भएको एनपीएलको फाइनलपछि केही व्यक्तिहरूले जनकपुर बोल्ट्सलाई लक्ष्य गर्दै आक्रमण र अपमानजनक शब्द प्रयोग भएको भन्दै जनमतका प्रवक्ता शरदसिंह यादवले विज्ञप्ति निकालेर उक्त घटनामा संलग्नहरूमाथि कारबाहीको माग गरेका हुन्।

‘एनपीएलको फाइनल खेलपछि काठमाडौंमा विजय उत्सव मनाइरहेका जनकपुर बोल्ट्स समर्थक मधेसी समुदायका मानिसहरूलाई लक्षित गरेर नश्लीय सोच बोकेका केही युवाहरूद्वारा अपमानजनक शब्द प्रयोग गर्दै गरेको आक्रमण र कुटपिटप्रति जनमत पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

जनमत पार्टीले रंगभेदी क्रियाकलाप गर्नेहरूलाई पहिचान गरी कानुनी दायरामा ल्याउन गृह प्रशासनलाई आग्रह पनि गरेको छ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि जनकपुर बोल्ट्सका समर्थकप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय तथा साम्पदायिक व्यवहार दु:खलाग्दो भएको बताएका छन्।

‘जनकपुर बोल्ट्सका समर्थकप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दु:ख लाग्ने खालको छ। मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ,’ महामन्त्री थापाले भने, ‘सरकारले यसमा तुरून्तै कारबाही अगाडि बढाओस्। यी हर्कतहरू कुनै पनि बहानामा स्वीकार्न सकिँदैन।’

जनकपुर बोल्ट्स समर्थकलाई लक्ष्य गर्दै लागेका विभेदकारी नाराबारे सर्वत्र विरोध भइरहे पनि यस्तो नारा लगाउने व्यक्ति वा समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छैन।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले कुनै समुदायलक्ष्य गर्दै लागेका नाराबारे प्रहरीमा जानकारी नआएको बताए। ‘के भएको रहेछ, हामी बुझ्नेछौं,’ उनले भने।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १५:२८
Weather Update