News Griha :: न्यूजगृह
मकवानपुरमा १३७ केजी गाँजा बरामद

हेटौँडा— मकवानपुर प्रहरीले १ सय ३७ केजी गाँजा बरामद गरेको छ। मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरतर्फ गाँजाको भारी बोकेर गइरहेको अवस्थामा राप्ती खोलामा प्रहरीलाई देखेपछि गाँजाको भारी नै छाडेर भरियाहरू भागेका थिए ।

१०/१२ जनाको समूहमा रहेका भरियाहरूले शनिबार बिहान राक्सिराङ गाउँतर्फबाट गाँजा बोकेर आएको सूचनापछि प्रहरीले डिल्लीपुरस्थित राप्ती खोलापारी बसेको थियो । प्रहरीलाई देखेर भरियाहरू गाँजाको बोरा छाडेर भागेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उनका अनुसार १३ वटा बोरामा १ सय ३७ केजी गाँजा बरामद भएको छ ।

मकवानपुर प्रहरीका अनुसार चालु आवको साउनदेखि पुस ६ गतेसम्म ३ हजार ६० केजी गाँजा, ३० केजी चरेस र २ सय ३९ ग्राम खैरो हेरोइन बरामद गरेको छ । लागूऔषध कारोबार गरेको आरोपमा मकवानपुर प्रहरीले नेपाली र भारतीय नागरिक ६९ जना पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता अर्यालले बताए ।

'यस अवधिमा २ जना महिलासहित ६३ जना नेपाली र एक महिलासहित ५ जना भारतीय नागरिक लागूऔषध कारोबारको आरोपमा पक्राउ गरिएको छ,' उनले भने ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार गत आवमा लागूऔषध ओसारपसार गरेको आरोपमा २१ महिलासहित २ सय ५० जनालाई प्रहरीले पक्राउ गरेर मुद्दा दायर गरेको थियो । उक्त अवधिमा मकवानपुर प्रहरीले ३ हजार ९ सय ६२ केजी गाँजा बरामद गरेको थियो भने १३ केजी अफिम, ७८ ग्राम खैरो हिरोइन र १ सय ५ केजी चरेस बरामद गरेको थियो ।

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १८:०८
Weather Update