
काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरू कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने तयारी गरेको छ।
मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई भनेका छन्।
यसअघि नै व्यवस्था गर्न भनिएको विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि समेत अधिकारीहरूलाई मन्त्री पौडेलले निर्देशन दिएका थिए।
पछिल्लो समय मन्त्री पौडेलले नियमित रूपमा हेल्लो स्वास्थ्यमा आएका गुनासाहरू सुन्दै सुधारका लागि अधिकारीहरूको ध्यानाकर्षण गराउँदै आएका छन्।
मन्त्रालयमातहतका सबै अस्पतालहरूमा पत्राचार गर्दै कार्यालय समयमा सेवा प्रवाह गरेको सुनिश्चितता गर्न निर्देशन दिएको छ भने गुणस्तर मापन तथा नियन्त्रण महाशाखाले मातहतका सबै कार्यालयमा चिकित्सक एवं स्वास्थ्यकर्मीहरू कार्यालय समयमा कार्यकक्षमा रहि सेवा प्रवाहको व्यवस्था मिलाउन निर्देशन दिएको छ।
'कार्यालय समयमा बाहिर जानु परे लगबुक राखेर मात्र जाने व्यवस्था मिलाउनुपर्ने छ,' पत्रमा भनिएको छ, 'कार्यालयमा आउँदा र जाँदा अनिवार्य रूपमा विद्युतीय हाजिरी गर्ने व्यवस्था मिलाउनु पर्नेछ।'
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कार्यालय समयमा चिकित्सक तथा स्वास्थ्यकर्मी नभएको बारम्बारको गुनासोपछि पत्राचार गरिएको भन्दै अनुगमन पनि गर्ने बताए।
'कार्यालय समयमा सेवामा उपस्थित हुनुपर्ने सबैको कर्तव्य हो,' उनले भने, 'यसलाई कडाइका साथ लागु गर्न स्मरण गराएका छौं। अनुगमनमा कोही दोषी भेटिए कारबाही हुनेछ।