News Griha :: न्यूजगृह
हिरासतभित्रको तस्बिर बाहिर ल्याउनेलाई के हुन्छ कारबाही?

काठमाडौं— सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने सुतिरहेको तस्बिर सार्वजनिक भएपछि कास्की प्रहरीले तस्बिर बाहिर ल्याउनेलाई कारबाही गरिने बताएको छ।

आफूलाई सामाजिक अभियन्ता बताउने निकोलस भुसालले उक्त तस्बिर पुस ४ गते बिहीबार बिहानै सामाजिक सञ्जालमा हालेका थिए। सार्वजनिक तस्बिरमा लामिछाने हिरासतभित्रको खाटमा सुतिरहेका देखिन्छन् भने साइडको टेबुलमा टन्नै किताब देखिन्छन्। भुइँमा एकजोर चप्पल छ।

भुसालले फेसबूक लाइभमा बोल्दै सीसीटीभीको दृश्यबाट प्रहरीकै अगाडि आफूले उक्त तस्बिर खिचेको बताएका छन्।

बिहीबार नै कास्की प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीको व्यावसायिकतामा आँच पुर्‍याउने काम गरेको भन्दै तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गरिने बताएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले जारी गरेको विज्ञप्ति अनुसार सूचनाको हक सम्बन्धी ऐन र विद्युतीय कारोबार ऐनका प्रावधान उल्लंघन गरिएकाले सोही अनुसार कारबाही हुनेछ।

सूचनाको हक सम्बन्धी ऐन अनुसार अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनको गोपनीयता उल्लंघन गरेकाले प्रहरीले कारबाही गर्ने भनेको हो। तर उक्त ऐनको दफा ३ अनुसन्धान, अभियोजन गर्ने पक्षले निर्वाह गर्ने भूमिकाको हो। उक्त दफामा ‘अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा प्रत्यक्ष असर गर्ने विषयमा सूचनाको हक नलाग्ने’ व्यवस्था छ। कास्की प्रहरीले निकोलस भुसालले यो दफा उल्लंघन गरेको उल्लेख गरेको छ।

तर यो दफाले त अपराध अनुसन्धान भइरहेको विषयमा सूचनाको हक अन्तर्गत सूचना दिन नमिल्ने भनेर प्रतिबन्ध गरेको हो। यो दफा विपरीत काम गर्नेलाई के कारबाही हुने भन्ने व्यवस्था उक्त ऐनमा छैन।

बरु सोही ऐनको दफा ३२ को उपदफा ४ मा ‘जुन प्रयोजनका लागि सूचना लिएको हो त्यस बाहेक दुरुपयोग गरेमा कसूरको गम्भीरता हेरी पाँच हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने’ व्यवस्था छ। यस्तै भुसालले अनधिकृत रूपमा सामग्री सम्प्रेषण तथा प्रकाशन गरेको कास्की प्रहरीले आरोप लगाएको छ, जसलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही हुनेछ।

ऐनको दफा ४५ मा अन‍धिकृत रूपमा कम्प्युटर सामग्रीमा पहुँच पुर्‍याउन निषेध गरिएको छ। कुनै कम्प्युटरमा रहेको कार्यक्रम, सूचना, तथ्यांकमा अनधिकृत पुहँच बनाएमा दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै जरिवाना हुन सक्ने व्यवस्था छ।

त्यस्तै, दफा ४७ मा विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्न रोक लगाइएको छ। उक्त दफामा कम्प्युटर, इन्टरनेट लगायत विद्युतीय सञ्चारमाध्यममा कानुनले निषेध गरिएका चिज प्रकाशन गर्न नहुने भनिएको छ। यस्तो कसूर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ। भुसाललाई यही विद्युतीय कारोबार ऐनका कसूर आकर्षित हुनेछ।

कास्की प्रहरीले रवि लामिछानेको हिरासत कक्षको तस्बिर बाहिर ल्याउनेलाई कानुनी कारबाही गर्ने बताए पनि सुरक्षाका दृष्टिले अति संवेदनशील क्षेत्रमा क्यामेरा सहित जान दिने प्रहरीबारे भने औपचारिक रूपमा केही बोलेको छैन।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १९:३९
Weather Update