News Griha :: न्यूजगृह
सुर्खेतमा घरभित्र निसासिएर आमा-छोराको मृत्यु, छोरी घाइते

सुर्खेत— सुर्खेतमा घरभित्र निसासिएर दुई जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर-४ भैरवस्थानको समावेशी टोलमा घरभित्र सुतिरहेका आमा छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार सोही ठाउँका ३० वर्षीया देवीसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापाको मृत्यु भएको हो । देवीसराका ९ वर्षीया छोरी रिया थापा घाइते भएको उनले बताए । घाइतेको अवस्था गम्भीर रहेको र कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको उनले बताए ।

घटना बुधबार रातिको भए पनि बिहीबार बिहान साढे ९ बजे मात्र खबर पुगेको प्रहरीले जनाएको छ । ‘बेलुका खाना खाएर सुतेको देखिन्छ, बिहान अबेरसम्म घरबाट कोही ननिस्किएपछि प्रहरीलाई खबर आएको हो,’ डीएसपी विश्वकर्माले भने, ‘घरभित्र कोइला बालेको र धुवाँमा निसासिएको प्रारम्भिक रिपोर्ट छ ।’

तीनै जनालाई अस्पताल पुर्‍याएपछि चिकित्सकले आमा देवीसरा र छोरा रियानलाई मृत घोषणा गरेका हुन् ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १९:०२
Weather Update