दाङ— ट्रकको ठक्करबाट सोमबार बेलुका एक जनाको मृत्यु भएपछि उनका आफन्तले मंगलबार पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
ट्रकको ठक्करबाट दाङको राप्ती गाउँपालिका–३ वसन्तपुरका १८ वर्षीय सोनु गुरुङको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै उनका आफन्तले मंगलबार अपराह्नदेखि राप्ती गाउँपालिका-२ लालमटियामा सडक अवरुद्ध गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए । सडक अवरुद्ध भएपछि पूर्व-पश्चिम यात्रा गर्ने गाडीहरू अलपत्र परेका छन् ।
सुर्खेतबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले पूर्व-पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका-२, कटेश नालामाविपरीत दिशाबाट आइरहेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक गुरुङको मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते चालकलाई उपचारका लागि भालुबाङ अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रक चालक सुनापती गाउँपालिका–५ रामेछापका ४१ वर्षीय सोम तामाङलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको डीएसपी थापाले जानकारी दिए ।