News Griha :: न्यूजगृह
केन्द्रीय अपराध अभिलेखालय स्थापना गर्दै प्रहरी

काठमाडौं— नेपाल प्रहरीमा केन्द्रीय अपराध अभिलेखालय स्थापना गरिने भएको छ । संसदमा पेस गर्न लागिएको प्रहरी विधेयकमा केन्द्रीय अपराध अभिलेखालय स्थापना गर्ने उल्लेख गरिएको छ ।

नेपाल सरकार वादी हुने मुद्दासँग सम्बन्धित फौजदारी अपराध र सो सम्बन्धमा भएका फैसलाको अभिलेख राख्‍न केन्द्रीय अपराध अभिलेखालय स्थापना गर्न लागिएको बताइएको छ ।

अपराध अनुसन्धान र अभियोजन गर्ने संघ र प्रदेश तहका सबै निकायले कुनै पनि अपराध सम्बन्धी मुद्दामा अन्तिम फैसला भएपछि एकप्रति अभिलेखालयमा पठाउनुपर्ने हुन्छ ।

अभिलेखालयले अपराधको प्रकृति र प्रवृत्ति सम्बन्धमा आवश्यकता अनुसार विज्ञ समेत संलग्न गराई अध्ययन अनुसन्धान गर्न सक्नेसम्म विधेयकमा उल्लेख गरिएको छ ।

यसको आधारमा गृह मन्त्रालयलाई वार्षिक नीतिगत पृष्ठपोषण दिनुपर्नेछ । अभिलेखालयमा रहेको अभिलेख विवरणमा तोकिए बमोजिमको अधिकारीको मात्र पहुँच हुने उल्लेख गरिएको छ ।

अभिलेखालयमा रहेको अपराधको अभिलेखको आधारमा नागरिकलाई तोकिए बमोजिम चारित्रिक प्रमाणपत्र उपलब्ध गराइने विधेयकमा उल्लेख गरिएको छ । संसद खुल्नासाथ उक्त विधेयक संसदमा पठाइनेछ ।

संसदबाट पारित भएपछि ऐनको रूपमा मान्यता पाएर कार्यान्वयनमा  जानेछ । अहिलेसम्म नेपाल प्रहरीमा केन्द्रीय अपराध अभिलेखालय छैन ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १९:४४
Weather Update