काठमाडौं— काठमाडौं महानगरका पूर्वमेयर पीएल सिंहको अन्त्येष्टि गरिएको छ । केही बेरअघि डल्लुनजिकै कंकेश्वरी घाटमा सिंहको अन्त्येष्टि गरिएको हो । सिंहको पार्थिव शरीरमा उपप्रधानमन्त्री एवं कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले पार्टीको झन्डा ओढाएका थिए ।
पूर्वप्रमुख सिंहको ८८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । पछिल्लो समय उपचारसँगै उनी ठमेल चाक्सीबारी बस्दै आएका थिए । पूर्वमन्त्रीसमेत रहेका सिंहको पेटमा अल्सर भएपछि गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो ।
विसं १९९६ चैत ११ गते जन्मिएका सिंह २०४९ सालमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं नगरपालिका प्रमुखमा निर्वाचित हुन् । उनकै कार्यकालमा २०५२ साल मङ्सिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो ।
कामपाले स्व सिंहको निधनप्रति सम्मान प्रकट गर्दै आज केन्द्रीय कार्यालय र मातहतका सबै वडा कार्यालयका अत्यावश्यकबाहेक सेवा बन्द गरी शोक बिदा दिएको छ ।